Nepal Mediciti Hospital Ad

शिक्षामा ‘सेमेस्टर सिस्टम’

तपाईको खबर संवाददाता प्रकाशित : साउन ५, २०७६ विचार
education

राष्ट्रिय शिक्षा पद्धतिको योजना–२०२८ लागू भएपछि नेपालको शिक्षा प्रणालीमा युगान्तकारी परिवर्तन भएको छ । यसले समग्र शिक्षा प्रणालीलाई मात्रै परिवर्तन गरेन, शिक्षकको सेवा, सर्त र सुविधामा पनि उल्लेखनीय सुधार ल्यायो । यसले विद्यालय तहमा व्यावसायिक तथा साधारण गरी दुई किसिमका शिक्षा प्रणाली लागू भयो । व्यावसायिक शिक्षाअन्तर्गत काष्ठकला, कृषि, मत्स्यपालन, पशुपालन, वागबानी, वास्तुकला तथा मूर्तिकलाजस्ता विषय समावेश गरिएका थिए । संस्कृत शिक्षालाई पनि साधारण शिक्षाअन्तर्गत समावेश गरी आधुनिक बनाइएको थियो । यसबाहेक अन्य धार्मिक पाठशाला तथा विद्यालयलाई पनि राष्ट्रिय शिक्षा पद्धतिको योजनाअनुरूप सुधार गरिएको थियो । विद्यालय शिक्षाका प्राविधिक शिक्षामा प्रयोगात्मक शिक्षातर्फ बढी जोड दिएको थियो ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि विद्यालयस्तरका पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र मूल्याङ्कनसम्बन्धी प्रक्रियामा व्यापक परिवर्तन भए । उच्च शिक्षामा सेमेस्टर पद्धतिअनुसार प्रत्येक छ–छ महिनामा अर्थात् अर्धवार्षिक मूल्याङ्कन पद्धतिको विकास गरियो । यसको साथै आन्तरिक मूल्याङ्कनको पनि व्यवस्था गरिएको थियो । विद्यार्थीका लिखित परीक्षाको मूल्याङ्कन शिक्षण गर्ने शिक्षकबाट नै गर्ने पद्धतिको विकास गरियो । मूल्याङ्कन पूर्ण रूपमा खुला हुने गर्दथ्यो ।

यो मूल्याङ्कन पद्धतिमा विषय शिक्षकलाई विद्यार्थीको चित्त बुझाउन निकै गाह्रो भयो भन्ने गुनासो आउन थाल्यो । उत्तरपुस्तिकाको परीक्षणमा एकरूपता ल्याउन प्रयोगात्मक परीक्षाका साथै प्रश्न निबन्धात्मक तथा वस्तुगत गरी दुई श्रेणीमा विभाजन गरियो । वस्तुगत प्रश्नलाई बहुवैकल्पिक, जोडा मिलाउने, खाली ठाउँ भर्ने, शुद्ध अशुद्ध भनी वर्गीकरण गरियो । यस्ता प्रश्नका उत्तरपुस्तिका परीक्षणमा एकरूपता देखाप-यो । तैपनि यस्ता प्रश्नबाट विद्यार्थीका सिर्जनात्मक क्षमताको विकास हुन सक्दैन भन्ने आलोचना पनि हुन थाल्यो । त्यसै हुनाले वस्तुगत प्रश्नमा बहुवैकल्पिक प्रश्नलाई मात्रै प्राथमिकता साथ प्रयोगमा ल्याइयो । निबन्धात्मक प्रश्नको परीक्षणमा एकरूपता ल्याउन ‘मार्किङ स्कीम’ को व्यवस्था गरियो । राष्ट्रिय शिक्षा पद्धतिको योजना खारेज भए पनि मूल्याङ्कनका साधन प्रायःजसो यथावत् नै रहे ।

राष्ट्रिय शिक्षा पद्धतिको योजनाअन्तर्गत स्नातकोत्तर तहको अन्तिम एक वर्ष राष्ट्रिय विकास सेवाअन्तर्गत विद्यार्थीले देशका विभिन्न भागमा गएर वर्ष दिनसम्म आफ्ना विषयसँग सम्बन्धित सीपको प्रयोग गरी देश निर्माणको काममा सहयोग गर्नुपर्ने हुन्थ्यो । राष्ट्रिय विकास सेवामा संलग्न विद्यार्थीले शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएका थिए । राष्ट्रिय शिक्षा पद्धतिको योजनाको अन्त्यसँगै राष्ट्रिय विकास सेवाको पनि अन्त्य भयो । सेमेस्टर पद्धतिका गुण तथा अवगुणसम्बन्धमा अनेक विवाद तथा बहस भए । केही विश्वविद्यालयमा सेमेस्टर पद्धतिको अन्त्य गरेर वार्षिक प्रणाली लागू गरियो । अन्य केही प्राविधिक महाविद्यालय तथा विश्वविद्यालयले सेमेस्टर पद्धतिलाई निरन्तरता दिइराखे । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर र वार्षिक प्रणाली दुवै एकसाथ सञ्चालन गर्दै आएको थियो । यस विश्वविद्यालयअन्तर्गतका चिकित्साशास्त्रजस्ता संस्थानमा सेमेस्टर पद्धति नै सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयले वार्षिक शिक्षा प्रणालीलाई विस्थापन गरी आफ्ना सबै अध्ययन संस्थान तथा सङ्कायमा पूर्ण रूपमा सेमेस्टर पद्धति लागू गर्ने निर्णय गरेको छ । यस निर्णयको यथाशीघ्र कार्यान्वयन गरी सबै शिक्षण संस्थान तथा सङ्कायमा एकरूपता ल्याउनु आवश्यक छ । सेमेस्टर पद्धतिले विद्यार्थीलाई निरन्तर कक्षामा उपस्थित हुने र परिश्रम गर्ने बानीको विकास गर्ने अवसर प्रदान गर्दछ । एक वर्षसम्म सम्झेर मूल्याङ्कनमा सरिक हुने परिपाटीले गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण भई बीचैमा उच्च शिक्षाको अवसरबाट वञ्चित हुने गर्दथे भने सेमेस्टर पद्धतिले छ–छ महिनामा परीक्षामा बस्न पाउने अवसर प्राप्त हुँदा अनुत्तीर्ण विद्यार्थीको सङ्ख्या क्रमशः न्यून हुँदै गएको छ । यसको साथै सेमेस्टर पद्धतिमा विद्यार्थीलाई अनुसन्धानात्मक प्रतिवेदन तथा अनुसन्धानमा संलग्न हुने अवसर प्राप्त हुने हुनाले तिनका सिर्जनात्मक क्षमताको पनि विकास हुने गर्दछ ।
उच्च शिक्षामा सेमेस्टर पद्धति लागू गर्नु ज्यादै सान्दर्भिक छ । विश्वका सबैजसो विश्वविद्यालयमा सेमेस्टर पद्धति नै लागू भएका छन् । यसले शिक्षक र विद्यार्थी दुवैलाई अध्ययन र अध्यापनप्रति सक्रिय गराउँछ तर उच्च शिक्षामा सेमेस्टर पद्धतिलाई आधुनिक किसिमबाट सञ्चालन गर्नुपर्ने खाँचो रहन्छ । यस पद्धतिमा शिक्षकको भूमिका पूर्ण रूपमा निर्देशकका रूपमा रहन्छ भने विद्यार्थीले शिक्षकको निर्देशनमा आफ्ना अध्ययन अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । वार्षिक पद्धतिअनुसारकै पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रविधिको प्रयोग भइरहेमा सेमेस्टर पद्धतिको कुनै औचित्य रहँदैन ।

सेमेस्टर पद्धतिमा विश्वविद्यालय तथा महाविद्यालयका पाठ्यक्रम, शिक्षण विधि तथा मूल्याङ्कन प्रविधिलाई समयसापेक्ष रूपमा निरन्तर परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ । यस पद्धतिलाई अझै व्यावहारिक बनाउन अनुसन्धानात्मक गतिविधिमा जोड दिनुको साथै राष्ट्रविकास सेवाजस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित