Nepal Mediciti Hospital Ad

हामी सवै बाच्ने आधार नै संकटमा

तपाईको खबर संवाददाता प्रकाशित : असार १९, २०७६ विचार
Global Warming

अठारौँ शताब्दीअघिसम्म विश्वमा हावापानी, वातावरण आदि सबै सन्तुलनमा थिए । त्यसपश्चात् धनी राष्ट्रमा औद्योगिक क्रान्ति र हरित क्रान्तिले विकासको सम्भावना फराकिलो बनायो । विकासकै क्रममा धनी देश झन् धनी बन्दै गए । यिनै विकास प्रयासले पश्चिमा अधिकांश राष्ट्रको आर्थिक स्थिति निकै मजबुत बनेको छ भने विकसित र अल्पविकसित राष्ट्र विकासको गति लिने प्रयासमा छन् तर विकासको यो गतिसँगै वातावरणीय समस्या दिनानुदिन जटिल हुँदै गएको छ ।
जलवायु परिवर्तनको मुख्य कारण मानवसिर्जित क्रियाकलाप नै हुन् । पृथ्वीको वायुमण्डलमा रहेको हरितगृह ग्यासले काँच वा प्लास्टिकजस्तै काम गरिरहेको हुन्छ । यसले सूर्यबाट आउने प्रकाश र तापलाई सजिलै छिर्न दिन्छ । यसरी छिरेको ताप र प्रकाश पृथ्वीमा पुगेपछि यसको केही भाग जमिन, पानी र बोटबिरुवाले सोस्छ भने धेरैजसो आकाशतिर फर्किन्छ । यसरी फर्किएर आएको प्रकाश हरितगृह ग्यासले रोकेर राख्छ, जसको प्रभावलाई हरितगृह प्रभाव भनेर वर्णन गरिन्छ ।
निश्चित हदसम्म हरितगृह आवश्यक हुन्छ । वैज्ञानिकका अनुसार हरितगृहको अभावमा पृथ्वीको औसत तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म पुग्ने हुनाले यस्तो अवस्थामा जीवित प्राणी असम्भव हुन्छ तर वायुमण्डलमा जति–जति हरितगृह ग्यास थपिँदै जान्छ, त्यही अनुपातमा सूर्यबाट आएको तापक्रम फर्केर जान सक्दैन, ताप पुनः फर्केर पृथ्वीमा आउँछ । यो प्रक्रियाले पृथ्वी तात्छ । यही कारणले नै पृथ्वीको वायुमण्डलमा हावाको बहाव बढ्ने, अतिवृष्टि, अनावृष्टि, हिमपहिरो, सुख्खा, बाढीपहिरोजस्ता प्राकृतिक विपत्को जोखिम बढिरहेको छ ।

तापक्रममा वृद्धि भई मौसममा आएको परिवर्तनका कारण मौसममा अस्थिरता आउने, समुद्री सतह बढ्ने र हिमनदी पग्लनेजस्ता घटना बढ्दै गइरहेकाले पृथ्वीले जोखिमपूर्ण समस्या सामना गर्नुपर्ने देखिन्छ । यसले सम्पूर्ण पारिस्थितिक प्रणालीमा नै असर पु¥याउँछ । हिमाली क्षेत्रमा समेत तापक्रम वृद्धि हुन्छ । तापक्रममा आएको परिवर्तनले पानीका स्रोत सुक्ने र पानीको सतह घट्दै गएका छन् । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न हुनुका साथै मानवीय अस्तित्वमा थप समस्या हुन्छ । नयाँ रोग देखापर्नु, कृषि उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा कमी भई अनिकालको अवस्था सिर्जना हुनु यसका प्रत्यक्ष प्रभाव हुन् । जलवायु परवर्तनका यस्ता असर नेपालमा मात्र नभएर विश्वभरि परेको छ ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यासलाई प्रभाव पार्ने ग्यास नगन्य मात्रामा निकाले पनि नेपालमा जलवायु परिवर्तनका सङ्केत र नकारात्मक प्रभाव कम छैनन् । नेपालले विश्वभर उत्पादन हुने हरितगृह ग्यासको ०।०२५ प्रतिशतमात्रै उत्पादन गर्छ तर जलवायु परिवर्तनका नकारात्मक र गम्भीर असर भोग्न बाध्य हुने देशमध्ये नेपाल एक हो ।

जीव र वनस्पतिका बाँच्ने आधार र अस्तित्व नै पर्यावरणको सन्तुलन हो । जलवायु अर्थात् पर्यावरणीय सन्तुलन कायम राख्नु आजको आवश्यकता हो । प्रकृति र मानवबीचको सम्बन्धबाट मानव सभ्यताको क्रमिक विकास हुँदै आएको हो । मानव विकासको क्रमसँगै हाम्रा पुर्खाले प्रकृतिअनुकूल बनाउँदै साँस्कृतिक परिमार्जन गरी आजको अवस्थामा आएको छ । अहिले देखिएका जलवायु परिवर्तनले मानव सभ्यतामाथि नै गम्भीर चुनौती सिर्जना गरिरहेको छ । यसले जलवायु तथा पर्यावरणीय सन्तुलन कायम गर्न ठूलो चुनौती छ ।
असर
जल तथा मौसम विज्ञान विभागको अध्ययनअनुसार नेपालको औसत तापक्रम प्रतिवर्ष ०।०६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको छ । भौगोलिक क्षेत्रका आधारमा तराई र मध्येपहाडी क्षेत्रमा भन्दा उच्च पहाडी, हिमाली तथा हिमालपारि तापक्रमको वृद्धिदर बढी छ । त्यस्तै, नेपालको औसत वर्षा प्रतिवर्ष १३ मिलिमिटरका दरले बढेको छ तर वर्षाको अवधि प्रतिवर्ष ०.८ दिनले घटिरहेको छ । कुनै स्थानमा खण्डवृष्टिका कारणले वर्षा घट्न गई सुख्खा बढ्दै गएको छ भने कुनै स्थानमा अतिवृष्टि छ । त्यस्तै मनसुनी वर्षा छिटो सुरु भई ढिलो अन्त्य हुनेक्रम पनि बढेको छ । जलवायु परिवर्तनले विशेषगरी नेपालका कृषि, स्वास्थ्य, हिमनदी, जलसम्पदा र वन तथा जैविक विविधतामा नकारात्मक असर पारिरहेको छ ।
कृषि
नेपालमा ६५ प्रतिशतभन्दा बढी जनता जीवनयापनका लागि कृषिमा निर्भर छन् । जलवायु परिवर्तनबाट वर्षामा कमी आएकाले कृषि उत्पादनमा प्रत्यक्ष असर परेको छ । ढिलो वर्षात् भएका कारणले सिजनमा धान लगाउन नसकेको र लगाएको धानबालीमा पानीको कमीले धान उत्पादनमा ह्रास आएको छ ।
नयाँखालका कीटाणु वा रोगले गर्दा बालीनालीलाई असर पारेको छ । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले खेतीयोग्य जग्गा बगाएको छ । जग्गाको उर्वराशक्तिमा कमी आएकाले उत्पादनमा ह्रास आइरहेको छ, जसको असर राष्ट्रिय उत्पादनमा परेको छ । पुराना जातका धान, मकै, तरकारीका बीउ लोप हुँदै गइरहेका छन् ।
स्वास्थ्य
जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष दुवै किसिमले प्रभाव पारेको छ । एकातिर प्राकृतिक प्रकोपका कारणले घर–जग्गा, सार्वजनिकस्थलजस्तै स्कुल, मन्दिर, जङ्गल आदि जोखिममा छन्, जसकारण मानिसलाई मानसिक असर परिरहेको छ । अर्कातिर प्राकृतिक प्रकोपले पानीका स्रोत मासिएका छन् भने कृषि उत्पादनको कमीले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ । लामखुट्टे, झिँगा अन्य कारणले औलो, झाडाबान्ता जिउमा आलस्य आउनेजस्ता रोग बढ्दै गएका छन् ।
प्राकृतिक प्रकोप
केही महिनाअघि बारा र पर्सामा आएको आँधीबेहरी कसैले नसोचेको र जीवनमा कहिल्यै नभएको प्राकृतिक प्रकोप हो, जसमा केहीले ज्यान गुमाए, केही घाइते भए, धनको क्षति भयो । जलवायु परिवर्तनले बाढीपहिरो र भूक्षयमा वृद्धि भएको छ, जसककारण वनक्षेत्र दिनानुदिन घट्दै गइरहेको छ । अर्कोतिर पानीका मुहान लोप हुने अवस्थामा छन् । बढ्दो जनसङ्ख्याका कारण वन–जङ्गलको माग र प्रयोगले गर्दा वन–जङ्गलको विनाश भइरहेको छ ।
बढ्दो तापक्रमका साथसाथै डढेलो, नयाँखालका रोग कीटाणुले वन विनाश भइरहेको छ । जलवायु परिवर्तनले बढी सुख्खा, कम पानी पर्ने, बाढीपहिरो, भूक्षय, जाडो र गर्मी मौसमअनुसार नभएका कारण जङ्गली जनावर र बोटबिरुवालाई प्रत्यक्ष असर पारिरहेको छ । पहिला देखिएका बोटविरुवा र वन्यजन्तु लोप हुनेक्रममा छन् । वन्यजन्तु र वनस्पति अनुकूल वातावरणमा मात्र बाँच्न सक्छन् । जलवायु परिवर्तनले यिनीहरूको अनुकूलन वातावरणमा परिवर्तन ल्याउँछ र वन्यजन्तु तथा बोटबिरुवा लोप हुन्छन् ।
नेपालका हिमनदी प्रतिवर्ष ०.३ देखि १ मिटरका दरले घट्दै गइरहेका छन् । जलवायुमा तापक्रम बढ्नाले नेपालमा प्रतिवर्ष ५० मिटरका दरले हिमरेखा माथितिर सर्दै गएको कुरा विज्ञले बताएका छन् । यसबाट हाम्रो मानव जीवनचक्र नै गम्भीर रूपमा प्रभावित हुने देखिन्छ ।
प्रयास
नेपालमा यसको असर कम गर्न विभिन्नखाले जनचेतना वृद्धिका लागि वृक्षरोपण, प्लास्टिक वस्तुको प्रयोगमा न्यूनीकरण गर्ने, बागमती सरसफाइ आदि कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । व्यक्तिगत रूपमा सोच बदलेर पानी, इन्धन र ऊर्जाको बचत गर्ने, प्रयोग गरेको वस्तुको पुनःप्रयोग गर्ने बानीको विकास गर्दै जानुपर्छ । आफू बस्ने वरपरको वातावरण सरसफाइमा ध्यान दिने, सन्तुलित भोजन खाने, खाना खेर नफाल्ने बानीको विकास गर्न जरुरी छ । विश्वमा उत्सर्जन हुने करिब ६० प्रतिशत कार्बनडाइअक्साइड वन–जङ्गलले सोस्ने गर्दछ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वृहत् रूपमा वनको संरक्षण र सम्बद्र्धन आवश्यक छ । सडकका किनार, प्रत्येक घरमा दुई-चारवटा बिरुवा रोप्नेजस्ता अभियान चलाउन सक्ने हो भने हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित