Nepal Mediciti Hospital Ad

सामुदायिक विद्यालयको वास्तविक पाटो

तपाईको खबर संवाददाता प्रकाशित : असार १९, २०७६ विचार
community school

नेपाल सरकारको आर्थिक लगानी र समुदायले आफ्नो रेखदेख तथा व्यवस्थापनमा सञ्चालन गर्दै आएको विद्यालयलाई सामुदायिक विद्यालय अर्थात् सार्वजनिक विद्यालय भनिन्छ । नेपालमा हाल शैक्षिक गुठी, मदरसा, गोन्पा, गुरुकुल, संस्कृत शिक्षा, प्राविधिक तथा व्यवसायिक धारतर्फका विद्यालय, सार्वजनिक तथा सामुदायिक विद्यालय र निजी लगानीमा सञ्चालित विद्यालयहरू छन् भने माध्यमिक तहको उद्देश्य पूरा गर्न खुला तथा वैकल्पिक विद्यालयहरू पनि छन् । ती सबै विद्यालयमा शिक्षा लिन जाने भनेका बालबालिकाहरू नै हुन् । सिकाइ प्रक्रियाको केन्द्रविन्दु बालबालिकालाई उपयुक्त लालनपालन गर्ने जिम्मेवारी अभिभावकको हुन्छ । स्तरीय शिक्षा प्रदान गर्नु, दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्ने, आफ्ना मनमा लागेका कुराहरू व्यक्त गर्न सक्ने, आधुनिक सूचना र प्रविधिसँग अभ्यस्त हुन सक्ने, विश्वपरिवेशमा प्रतिस्पर्धा गर्न सक्ने, असल नागरिक उत्पादन गर्नु शिक्षकको जिम्मेवारी हुन्छ ।
विद्यालयभित्र शिक्षकको सोच सधैं सकारात्मक हुनुपर्दछ । उसको प्रयत्न कसरी म उपलब्धिपूर्ण विद्यार्थी उत्पादन गर्न सक्दछु भनेर निरन्तर रूपमा लागिरहने हुनुपर्दछ । बालमनोविज्ञानको अवधारणा अनुरुप विद्यार्थीहरूको रुचि, क्षमता र आवश्यकता बुझी तदनुकूल क्रियाकलापको विकास गरेर सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउन हरसमय तल्लिन रहनु पर्दछ । शिक्षक समाजको मार्गदर्शक, विद्यार्थीको सहजकर्ता, अभिभावक र विद्यालयबीचको समन्वयकर्ता पनि हो । शिक्षकले व्यक्तिगत तथा पेशागत जीवनलाई सार्थक र प्रभावकारी बनाउन सक्नुपर्दछ ।

सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि नेपाल सरकारले विभिन्न नीति तथा कार्यक्रम ल्याएको भए तापनि कार्यान्वयनमा त्यति प्रभावकारिता देखिंदैन । विद्यालयलाई शिक्षकको तलबसहित विभिन्न शीर्षकमा जस्तैः छात्रवृत्ति, नन्स्यालरी पि.सि.एफ., मसलन्द, विद्यालय सुधार योजना निर्माण, सामाजिक परीक्षण, लेखा परीक्षण, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली आदिमा अनुदान निकासा दिने गरेको भए पनि पर्याप्त भने छैन । उपर्युक्त शीर्षकमा तोकिएको अनुदान निकासा भएको रकम अत्यन्त न्यून छ । कुनै पनि दिगो आर्थिक स्रोत नभएका विद्यालयलाई अभिभावकसँग सहयोग रकम नमागी खर्च धान्न मुस्किल छ । तोकिएको शीर्षकको खर्चलाई रकमान्तरण नगरी विद्यालय व्यवस्थापन समितिलाई सुखै छैन । विद्यालयमा आवश्यक शिक्षक दरबन्दीको पर्याप्त व्यवस्था हुन नसकेको कारण विद्यालय सञ्चालन असहज छ । जस्तै : लेखा, कम्प्युटर, अर्थशास्त्र लगायतका धेरै ऐच्छिक विषय अध्यापन गराउने शिक्षकको व्यवस्थापनका लागि नीतिगत रूपमा स्पष्ट धारणा पाइदैन ।

त्यस्तै विद्यालय कर्मचारीको नीतिगत व्यवस्थामा जम्मा दुई जनामात्र राखिएको छ । एकजना कार्यालय सहायक र एकजना कार्यालय सहयोगी जसको तलव अत्यन्त न्यून अर्थात् क्रमशः एघार हजार पाँचसय र सातहजार पाँचसय मात्र रहेको छ । उक्त रकमले विहान ९ बजेदेखि बेलुका लगभग ६ बजेसम्म बस्नुपर्ने हुन्छ, त्यति तलबले उनीहरूको जीवन निर्वाह कसरी हुन्छ रु खोइ उनीहरूलाई प्रोत्साहन रु उनीहरूलाई त श्रमिकको न्युनतम तलवमान तेह्र हजार पाँचसय रुपियाँ पनि प्राप्त हुन सकेको छैन ।
मा।वि। तहमा ०–१२ सम्म सञ्चालनमा रहेको विद्यालयको लागि न्युनतम आवश्यकतामा रहेका कर्मचारीमध्ये एकजना लेखापाल, एकजना प्रशासनिक कर्मचारी, एकजना सुरक्षा गार्ड, एक जना सहयोगी कर्मचारी र एकजना कुचिकार हुनुपर्ने हो तर हालसम्म पनि यी कर्मचारीको व्यवस्था हुनसकेको छैन । बाल विकासदेखि १२ कक्षासम्म चलेको माध्यमिक विद्यालयमा लेखा प्रशासन हेर्ने कर्मचारी भनेको पूर्ण योग्य र दक्ष हुनु अति नै जरुरी छ । कम्तिमा पनि उसको योग्यता स्नातक तह पास गरेको, कम्प्युटरमा दक्ष हुनुपर्ने हुन्छ तर हाल कायम गरिएको तलबमानमा त्यस्तो कर्मचारी कसरी पाउनु रु यदि पाइए पनि टिकाउनु कसरी रु यो नीति निर्माण तहमा रहने व्यक्तित्वहरूले मनन गर्नु अत्यन्त जरुरी छ । त्यस्तै बालविकास तहमा काम गर्ने शिक्षक जसको तलवमान जम्मा छ हजार रुपिया मात्र छ, विहान ९:३० देखि बेलुका ४:३० सम्म काम गर्नुपर्छ । उनीहरूलाई विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति काम गराउन बाध्य छ र उनीहरू निर्दयी बन्न बाध्य छन् । एउटै विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीमाथि यो विभेद किन रु यस्ता समस्याका बारेमा नीति निर्माण तहबाट व्यवस्थापन गर्नुपर्ने होइन रु अनि विद्यालयलाई अभिभावक सहयोग नउठाउ भन्ने कसरी रु शिक्षकको तलब हालसम्म पनि महिना महिनामा आउने प्रबन्ध भएको छैन अनि शिक्षकले गरेनन् भन्ने कसरी रु पहिला शिक्षकले पाउने तलबलाई व्यवस्थित गरेर महिना महिनामा आउने गराउन सम्बन्धित पक्ष लाग्नु प-यो नि । अनि शिक्षकले गरेनन् भने नीति नियमले बाँधेर काम गराउने अर्थात् उच्च उपलब्धि हासिल गर्नेलाई प्रोत्साहन तथा पुरस्कार, काम नगर्ने, उपलब्धि न्यून हुने विषयका शिक्षकलाई कक्षाकोठाभित्र सिकाइमा केन्द्रित गराएर विभिन्न पृष्ठपोषण प्रदान गरी उपलब्धी बढाउन बाध्य बनाउन सकिन्छ ।
सामुदायिक विद्यालय सबै कमजोर र नराम्रा छैनन् । अधिकांश सामुदायिक विद्यालय राम्रा छन् । तिनका प्रधानाध्यापक (प्र.अ.) को नेतृत्व क्षमता र दक्षता अत्यन्त राम्रो छ । त्यस्ता विद्यालयको सिकाइ उपलब्धी उच्च छ । शिक्षक कर्मचारीको ‘टिमवर्क’ राम्रो छ । शिक्षकको मेहनत र लगनशीलताको कारण विद्यार्थीहरू सिकाइमा मात्र होइन अन्य अतिरिक्त क्रियाकलाप खेलकुद लगयतका कुरामा पनि अब्बल छन् । विद्यालय बालमैत्री छ, अभिभावकमैत्री छ । विविध क्षमता भएका विद्यार्थीहरूले पनि समान अवसर पाइरहेका छन् । त्यस्ता विद्यालयका वि.व्या.स., प्र.अ. शिक्षक अधिकांश समयमा विद्यालयमा नै समय खर्च गर्छन् । विशेष गरेर प्र.अ. त सार्वजनिक विदा समेत नभनी दिनरात विद्यालयकै काममा खटिइरहेका हुन्छन् । तर ती राम्रा विद्यालय विभिन्न समस्यामा अल्झिएका छन् जस्तै : भवन तथा कक्षाकोठा, शौचालय, खानेपानी, बिजुली बत्ति, शिक्षक दरबन्दी, फर्निचर, खेलमैदान आदिको अभावले गर्दा अधिकांश शिक्षकले सिकाइ उपलब्धी बढाउन लागिपरिरहँदा पनि आशा गरे अनुरूपको उपलब्धी हासिल हुन सकेको छैन ।

विद्यार्थीलाई राम्रोसँग सिकाएर उच्च उपलब्धी हासिल गराउन उसको रुचि, क्षमता, उमेरका साथै उपयुक्त वातावरणको पनि प्रमुख भूमिका रहेको हुन्छ । उपयुक्त वातावरण दिन सामुदायिक विद्यालय हालसम्म पनि सक्षम भइसकेका छैनन् । जग्गाको अभावमा विभिन्न मठ, मन्दिरमा विद्यालय चलाउनु, घेराबार अर्थात् कम्पाउण्डवाल तथा खेलमैदानको अभाव रहनु, विद्यालय शिक्षाको विकासका लागि नयाँ नयाँ नीति तथा योजनाहरू चाहिं बन्नु तर प्रभावकारी कार्यान्वयन हुन नसक्नुले गर्दा विद्यालय शिक्षा अन्योलमा गुज्रिरहेको छ । विद्यालयमा आइपर्ने सानातिना समस्याको मात्र समाधान गर्न सके पनि सुधार स्वतः हुन जान्छ । त्यसैले धेरै ठूलो सपना नदेखी साना समस्यालाई निराकरण गर्न लाग्नु पर्दछ ।
सातवटा प्रदेश अन्र्तगत रहेका शहरी क्षेत्र अर्थात् सदरमुकामका सामुदायिक विद्यालय राम्रा छन् । ती विद्यालयमा विद्यार्थीको चाप पनि अत्यन्त धेरै छ । अभिभावकहरूले बालबालिकालाई निजी विद्यालयबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । ग्रामीण क्षेत्रमा केही विद्यालयमात्र अब्बल छन् । ग्रामीण क्षेत्रमा विद्यालय राम्रा नहुनका विविध कारणहरूमध्ये गरिबी प्रमुख हो भने भौतिक पूर्वाधार र दक्ष शिक्षकको अभाव, शिक्षकहरूमा राजनीतिको प्रभाव अर्को महत्वपूर्ण पक्ष हो ।
सामुदायिक विद्यालय राम्रा छन् त्यहाँका शिक्षक राम्रा छन् तापनि राम्रा कुराको प्रचार प्रसारभन्दा कमजोर पक्षको विषयमा बढी चर्चा हुने गरेका कारण पनि शिक्षकहरूको मनोवल उच्च हुन सकेको छैन । त्यसैले शिक्षकको मनोबल उच्च बनाउन विभिन्न किसिमका विश्वपरिवेशसँग मेलखाने सूचना प्रविधियुक्त आधुनिक विषयगत पुनर्ताजगी तालिम गोष्ठि, सेमिनार सम्बन्धी नीतिगत व्यवस्था हुनुपर्दछ । विद्यालय व्यवस्थापन समितिलाई सक्षम, राजनीतिमुक्त बनाउनु पर्दछ । उच्च योग्यता भएको सक्षम र दक्ष प्र.अ. को व्यवस्था गर्नु पर्दछ । विद्यालय समुदायको हो भन्ने भावनाको विकास गराउनु पर्दछ । अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्दछ । प्रविधिक र व्यवसायिक शिक्षामा जोड दिंदै विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा प्रदान गर्न सकेको खण्डमा मात्र सामुदायिक विद्यालयबाट सोचे जस्तो उपलब्धि प्राप्त गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित