Nepal Mediciti Hospital Ad

अगस्ट अन्तिममा नेपालमा हुँदैछ ‘आईफा २०१९’

तपाईको खबर संवाददाता प्रकाशित : असार १३, २०७६ फिल्म-संगीत, मनोरञ्जन
iifa

बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड-२०१९’ (आईफा) काठमाडौंमा हुने भएको छ । यसको नेतृत्वको जिम्मा नेपाल पर्यटन बोर्डलाई दिइएको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्को निर्णयको बारेमा जानकारी दिँदै ‘आईफा अवार्ड’ काठमाडौंमा हुने बताए ।

काठमाडौं महानगरपालिका सह-आयोजक रहने यस अवार्डमा ६ सयको आसपासमा पाहुनाहरुको उपस्थिति रहने सरकारको अनुमान छ । ६० भन्दा धेरै बलिउड कलाकारहरुको उपस्थिति रहने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । अवार्ड अगस्ट अन्तिममा आयोजना हुने पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले बताए ।

अवार्ड आयोजना गर्न पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति समेत बनाइएको छ । यसले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने छ । कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ । सञ्चारमन्त्री बाँस्कोटाका अनुसार, अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्नेछन् ।

अवार्डको आयोजनासँगै सरकारले २० औं ‘आईफा अवार्ड’ का लागि ४४ करोड २५ लाख रुपैयाँसहित पाहुनाहरुको हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने छ । यसअघि आईफाले आफ्नै नीजि खर्चमा अवार्ड आयोजना गर्दै आइरहेको थियो । हरेक संस्करण बाहिरी देशमा हुँदै आएको यो अवार्ड मलेशिया, सिंगापुर, अमेरिका, क्यानडा, श्रीलंकालगायतका देशमा भइसकेको छ ।

पहिलो पटक नेपालमा हुन लागेको ‘आईफा अवार्ड’ को कूल लागत १ अर्ब हुने प्रारम्भिक अनुमान छ । भारतका कलाकारहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो खर्च लाग्ने पर्यटन बोर्डले बताएको छ । आईफा प्रतिनिधि र सरकारी अधिकारी बीच अहिले छलफल भइरहेको छ । अभिनेता अभिताभ बच्चन ‘आईफा अवार्ड’ का ब्रान्ड एम्बेस्डर हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित