आज : २०७६ कात्तिक ३ गते

Nepal Mediciti Hospital Ad

फ्राइडे रिलिजमा ‘प्रेम दिवस’ र ‘झट्का’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३१, २०७६ फिल्म-संगीत, मनोरञ्जन
prem diwas

फिल्म ‘दाल भात तरकारी’ ले बक्सअफिसमा यस वर्षको सुखद सुरुवात गर्‍यो । शुक्रवारबाट पाँचौ हप्तामा प्रदर्शन थालनी गरेको फिल्म ‘जात्रै जात्रा’ ले पनि लोभलाग्दो व्यापार गरेपछि फिल्मकर्मीमा उत्साह थपिएको छ । गत वर्ष ६ महिना फिल्म नचल्दा फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । निर्माताहरु आत्तिएका थिए । तर, चैत २९ मा रिलिज भएको ‘ए मेरो हजुर ३’ ले सुस्ताएको फिल्मको व्यापार राम्रै चलायमान बनायो ।

एक महिनामा तीन फिल्मले बक्सअफिसमा सफलता हासिल गरेपछि हलमा फेरि गत वर्षझैँ फिल्मको चाप सुरु हुन थालेको छ । हरेक हप्ताको शुक्रवार एकभन्दा बढी फिल्म रिलिज हुने परम्परा यस हप्ताको शुक्रवारबाट प्रदर्शन थालनी गरेका दुई फिल्म ‘प्रेम दिवस’ र ‘झट्का’ ले पनि धानेका छन् । दुबै फिल्म विना प्रचार प्रदर्शनमा उत्रिएका हुन् । भने, दुबै सिंगल थिएटर केन्द्रित फिल्म हुन् । दुई फिल्मको जनरा भने फरक छ ।

‘प्रेम दिवस’ लाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा ‘रियल कपल’ प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो फिल्मबाट विशाल खरेलले डेब्यू गरेका छन् । प्रदीप भारद्वाजद्वारा लिखित फिल्मलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । उक्त फिल्मले सिंगल थिएटरसँगै मल्टीप्लेक्समा पनि शो हात पारेको छ । तर, न्यून ।

यस्तै, फिल्म ‘झट्का’ लाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । उनकै कथामा फिल्म बनेको हो । फिल्मले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको छ । फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठलगायतको अभिनय छ । फिल्ममा सुरविरको गेटअप निकै फरक छ । यसमा उनले नेगेटिभ रोल निभाएका छन् । जीवन पराजुलीले खिचेको फिल्मको निर्माता तुलसीलाल नेवा हुन् ।

कुनै समय अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको भ्याकुम प्रियंकाले पूरा गर्ने धेरैको विश्वास थियो । तर, उनले आफ्नो साख जोगाइराख्न सकिनन् । गुणस्तरिय फिल्मभन्दा संख्यात्मक अभिनयमा जोड दिँदा उनको स्टारडम निकै कमजोर बनेको छ । अहिले उनको फिल्मलाई लिएर दर्शकमा कुनै चासो देखिन्न । दुई वर्षदेखि आयुष्मानको प्रेममा रमाइरहेकी उनका लागि ‘प्रेम दिवस’ को नतिजाले ठूलो अर्थ राख्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित