Nepal Mediciti Hospital Ad

फ्राइडे रिलिजमा ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’

तपाईको खबर संवाददाता प्रकाशित : जेठ ३, २०७६ मनोरञ्जन
jatrai jatra

हरेक हप्ताको शुक्रवार बक्सअफिसमा दुईभन्दा बढी फिल्मको भिडन्त हुनु अब सामान्य भइसकेको छ । अहिले कुनै फिल्मले सोलो रिलिज पाउनु भनेको मरुभूमिमा पानी भेटिनुजस्तै हो । ठूला ब्यानर र गिनुचुनेका कलाकारका फिल्मले समेत सोलो रिलिज पाउन छाडिसकेका छन् । बेला बखतमा प्रतिक्षीत मानिएका फिल्म भिड्दा भने फिल्मवृतमा ठूलै तरंग उत्पन हुने गरेको छ ।

शुक्रवारबाट देशैभर एकसाथ प्रदर्शन थालनी गरेका यस वर्षका निकै आश गरिएका दुई ठूलो फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ को भिडन्तले पनि केही समययता फिल्म क्षेत्र राम्रै गर्माएको छ । दुबै हिट फिल्मको दोस्रो पार्ट भएका कारण कसको पल्लाभारी होला ? भन्ने सवाल फिल्मकर्मीमाझ सर्वाधिक चासोको विषय बनेको छ । दुबै फिल्मप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ ।

एकसाथ प्रदर्शनमा आएका कारण दुबै फिल्मलाई व्यावसायिक सफलता हासिल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । ‘बीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराई हुन् । दुबै, दर्शकले भरोसा गरेका निर्देशकमा पर्दछन् । दर्शकले दुबै फिल्मको गीतसंगीत र ट्रेलरलाई निकै रुचाएका छन् । लोभलाग्दो हाइप बनाएका दुबै फिल्म मल्टीस्टारर हुन् ।

रोचक संयोग चाहिँ के जुरेको छ भने, एकै नाम गरेका नेपाली फिल्मका दुई वर्षा अर्थात् अभिनेत्री द्वय वर्षा राउत र वर्षा सिवाकोटी पहिलो पटक बक्सअफिसमा आमने-सामने भएका छन् । नाम एउटै भएका कारण दर्शक समेत झुक्किने गरेका छन् । दुईलाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । उनीहरुको सम्बन्ध पनि ३६ को आँकडामा रहेको फिल्मवृतमा चर्चा चल्दै आएको छ ।

दुई फिल्मको व्यापारिक नतिजाले दुई वर्षाको फिल्मी करिअरको भविष्य पनि निर्धारण गर्ने कतिपयको तर्क छ । यसकारण दुबैलाई आफू अभिनीत फिल्म बक्सअफिसमा सफल हुनैपर्ने चुनौती छ । र, उनीहरु आफ्नो फिल्मले व्यावसायिक सफलता हात पार्नेमा विश्वस्त छन् । ‘जात्रै जात्रा’ की वर्षा राउत सोलो हिरोइन हुन् । भने, ‘बीर विक्रम २’ त वर्षा सिवाकोटीकै वरिपरि घुमेको छ ।
भाग्य परिक्षामा दुई वर्षामध्ये को उत्तिर्ण हुने हुन् रु यसका लागि अझै केही दिन प्रतिक्षा गर्नुपर्ने छ । ‘जात्रै जात्रा’ मा वर्षाका अलावा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । यस्तै, ‘बीर विक्रम २’ मा वर्षासँगै पल शाह, नाजिर हुसेन, बुद्धि तामाङको प्रमुख भूमिका छ । दुबै फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित