Nepal Mediciti Hospital Ad

शिक्षा सुधारको सुरुवाति कदम

तपाईको खबर संवाददाता प्रकाशित : वैशाख १९, २०७६ विचार
education in nepal

बालबालिकाले कक्षामा पढ्ने सिक्ने कुरामा सबैभन्दा भरपर्दो व्यक्ति शिक्षक हो । केटाकेटीले शिक्षकलाई छाडेर आफ्ना बाबुआमालाई समेत कम आँकलन गर्छन् । तिनले शिक्षकलाई छाडेर अरूलाई पछ्याउँदैनन् । प्रायः शिक्षक वा शिक्षिकाले भनेको भनेर रटान गरिरहन्छन् । शिक्षकले बालबालिकालाई शुद्ध सिकाएनन् भने त्यही अशुद्धलाई तिनले शुद्ध ठम्याइरहेका हुन्छन् । यसर्थ, शिक्षक सक्षम हुनुप¥यो, आफूले पढाउने विषयमा कमजोर हुनुभएन । शिक्षकलाई दक्ष र योग्य बनाउने कुरामा शिक्षक स्वयम्मात्र जिम्मेवार नभई, तिनलाई पढाउने शिक्षण संस्था, तिनलाई प्रशिक्षित गर्ने विद्यालय, क्याम्पस, विश्वविद्यालय र प्रयोगशाला तथा त्यहाँका शिक्षक, प्रशिक्षकको समेत प्रभावकारी सकारात्मक भूमिका हुनुपर्छ ।

एकजना चिकित्सकले एकपटक गल्ती गर्दा एउटा बिरामीलाई असर पर्छ तर एउटा शिक्षकले एकपटक गल्ती गर्दा सयौँ विद्यार्थीमाथि प्रतिकूल प्रभाव पर्छ । हाम्रो बुझाइमा हिजोको शिक्षामा थुप्रै त्रुटि भएरै आज समाजमा विसङ्गति, अराजकता र द्वन्द्व बढिरहेको हो । हामीकहाँ आवश्यक योग्यता र क्षमता नभएका शिक्षक र प्रशिक्षकबाट पढाउने र प्रशिक्षण गराउने कार्य भए शिक्षकको सामान्य त्रुटिले पनि भविष्यमा ठूलो असर पर्छ भन्ने कुरा राज्य स्वयम्ले पनि ख्याल राख्न सकेन । परिणामतः कैयौँ शिक्षकले त राम्रोसँग पढाउन नसकेको मात्र नभएर गलत कुरा समेत पढाएका कुरा सुनिन्छन् । यस्ता कमजोरी एउटा कक्षाकोठामार्फत अर्को पुस्तामा सर्दै जानेक्रमलाई समयमै भङ्ग गरिनु जरुरी छ । सबै शिक्षकले विद्यार्थीलाई आफूले पढेको बुझेको कुरा नै सिकाउने हो । यदि शिक्षकले आफू पढ्दा नै त्रुटिपूर्ण सिकेको छ भने उसले विद्यार्थीलाई पनि त्यही बुझाइ हस्तान्तरण गर्छ । यसैले सही मूल्याङ्कन गर्दा शिक्षकलाई दोष दिनुभन्दा शिक्षक उत्पादन गर्ने संस्था पनि ठूलो दोषी ठहर्छ ।

शिक्षालाई सापेक्ष ढङ्गले प्रभावकारी बनाउन सरकारले राष्ट्रिय प्राथमिकतामा शिक्षालाई पार्नुपर्छ । विद्यालयमा त्रुटिरहित शिक्षा प्रदान गर्न योग्य सीपयुक्त शिक्षक उत्पादन गर्ने विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायका साथै शिक्षक प्रशिक्षण संस्थालाई चुस्त र दुरुस्त बनाइनुपर्छ । यस्ता संस्थाबाटै योग्य र दक्ष शिक्षक उत्पादन हुन सक्छन् । अहिलेसम्म यी संस्थाले पनि औपचारिकता निर्वाह गर्ने काममात्र गरिरहेका छन् ।

राम्रो शिक्षकको विद्यार्थीसँग घनिष्ठ सम्बन्ध हुन्छ । विद्यार्थीको पनि शिक्षकसँग राम्रो सम्बन्ध हुनु जरुरी छ । शिक्षकले विद्यार्थीसँग घुलमिल भई भावना बुझी तथ्यगत आधारमा सीप र क्षमताअनुसार अनुसन्धनात्मक कार्यप्रति पनि संलग्न गराउन जरुरी छ । पूर्वी सभ्यताले अनादिकालदेखि नै शिक्षाको उच्चस्थान राख्दै आएको छ । त्यसैले भनिँदै आएको छ– सच्चा गुरुले विद्यार्थीलाई अन्धकारबाट उज्यालोतर्फ डो-याउँछन् । शिक्षकले अँध्यारोबाट उज्यालोतर्फ ल्याउने चिन्तन र मनन गरेर आफूलाई क्रियाशील गराएमा धेरै बालबालिकाको जीवन सफल बन्न सक्छ ।

वैदिककालदेखि आजको वैज्ञानिक युगसम्म आइपुग्दा पनि शिक्षकको मह-व घटेको छैन । शिक्षा नीति कार्यक्रमको वास्तविकता कार्यान्वयन गर्ने स्थानमा शिक्षक नै रहेका छन् । राम्रो शिक्षक समाज, विद्यार्थी र राज्यको नजरमा अहिले पनि सम्मानित नै हुन्छ । देशमा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने जिम्मेवारी लिएका शिक्षक कर्तव्यच्युत भएमा देश कहिल्यै माथि उठ्न सक्दैन । आफ्नो विषयवस्तुको ज्ञाता र कर्तव्यमा दृढ र विद्यार्थीप्रति जिम्मेवार शिक्षकबाटै देशमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा ठूलो योगदान पुग्छ ।

शिक्षाले सक्षम नागरिक उत्पादन गर्न नसके देशको भविष्य अन्धकारमय हुन्छ । त्यसैले कैयौँ मुलुकले विद्यार्थीलाई कडा मिहिनेतसाथ शिक्षा आर्जन गर्न लगाएका छन् । त्यस्ता मुलुकमध्ये उदाहरणका निम्ति जापान र सङ्घीय गणतन्त्र जर्मनीलाई पनि लिन सकिन्छ । जर्मनीको व्याकरण हाम्रो संस्कृत शिक्षासँग जोडिएको आभास मिल्छ । हामीले अमरकोश घोकेसमान जर्मनीले आफ्नो व्याकरण घोकाउँछन् ।
मानिसमा निहित प्रतिभालाई सीप र जाँगर बढाएर तिनलाई तिखारेर व्यवहारमा ढाल्न निरन्तर अभ्यास आवश्यक पर्छ । विनामिहिनेत सजिलो शिक्षाको पछाडि लाग्ने मानिस खासै सफल भएको पाइँदैन । विद्यार्थीले आफ्नो समय विद्या आर्जनमा लगाउने, ब्रह्मचार्य ग्रहण गर्ने, बढ्दो तडकभडकसँग टाढा रहने, प्राकृतिक वातावरणमा अध्ययन गर्ने आदि हाम्रा गुरुकूल शिक्षाका आदर्श हुन् । अनादिकालदेखिका मान्यता अहिले पनि त्यत्तिकै सत्य र शाश्वत छन् । आज पश्चिमा देशले पनि शिक्षकले भाषण गरेर पढाउनेभन्दा विद्यार्थी स्वयम्ले मिहिनेत गरी खोजतलाससाथ आफ्नो अध्ययनलाई प्रभावकारी तुल्याउनुपर्ने कुरामा जोड दिइरहेका छन् ।

विद्यार्थीको कक्षाकोठा आकर्षक र रोचक हुनु जरुरी छ । उनीहरूको पढाइ र सिकाइमा शिक्षकको गहिरो अभिरुचि हुनुपर्छ । कक्षामा विद्यार्थीका कमजोर पक्षलाई उचाल्ने, होच्याउनुभन्दा तिनका बलियो पक्षलाई चर्चा गराएर हौसला थप्नुपर्छ । कक्षामा कुनै किसिमको भय उब्जने कार्य शिक्षकले गराउनुहुँदैन । उसले बालबालिकालाई कुनै पनि कुरा सिकाउँदा आफू संयमित हुने र सकारात्मक अनुशासन विधि अनुशरण गर्नुपर्छ ।

अझै हाम्रा बालबालिका दण्ड सजायबाट मुक्त हुन सकिरहेका छैनन् । बालबालिकालाई दण्ड सजाय दिने कार्य दक्षिण एसियाली मुलुकमा बढी समस्याका रूपमा विद्यमान छन् । हुन त नेपालमा बालबालिकालाई दण्ड सजायविरुद्ध २०७१ भदौ २८ गतेबाट शारीरिक तथा मानसिक दण्ड सजायविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्दै आए पनि व्यवहारमा खासै सुधार आएको देखिँदैन । अझै बालबालिकाले घरदेखि विद्यालयसम्म धेरैप्रकारका यातना भोग्ने गरेका छन् । कक्षामा शिक्षकले विद्यार्थीलाई रमाइलो, हँसिलो, विनोदप्रिय, प्रसन्न खुलस्त वातावरणमा राखोस् । कक्षामा भयमुक्त वातावरण देखियोस् । यसो हुन सकेमा बालबालिकाको सिकाइमा सुधार आउन सक्छ । सिकाइमा आउने सुधारबाटै विद्यार्थीको व्यवहारमा परिवर्तन आउने हो ।

अहिले प्रायः हाम्रो शैक्षिक कार्यक्रम सिकाइमा सुधारोन्मुख नदेखिएकाले नै औचित्यहीन दिशातर्फ लाग्न थालेको छ । हाम्रो शिक्षाको प्रतिफल सन्तोषजनक नहुनुमा शिक्षा प्रणालीमा कमीकमजोरी हुनुले गर्दा नै हो भन्नेमा दुईमत नहोला । कहाँनेर कसले कति गल्ती गरे भनेर शिक्षक, अभिभावक, सरकार वा राजनीतिज्ञ कुनै एउटा पक्षलाई दोष दिएर कुरा गर्नुभन्दा पनि समग्रतामा आधारित भएर हेर्ने र विश्लेषण गर्ने बानी बसाल्नुपर्छ । सबैले आ–आफ्नो स्थानबाट शिक्षा क्षेत्रमा इमानदारीपूर्वक सहयोग गर्नु नै सुधारको पहिलो कदम हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित