आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

दर्शक तान्न असफल रह्यो ‘द म्यान फ्रम काठमाडौँ’

तपाईको खबर संवाददाता प्रकाशित : चैत ७, २०७५ फिल्म-संगीत, मनोरञ्जन
The man from Kathmandu

‘सोज धेरै पाउँदैमा फिल्म सुपरहिट हुँदैन’ भन्ने एउटा गतिलो उदाहरण बनेको छ, फिल्म ‘द म्यान फ्रम काठमाडौं’ । शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्मले भोली शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन थाल्दैछ । तर, फिल्मलाई दर्शकको खडेरी लागेको छ । ५ करोडमा बनेको फिल्मले घरेलु बजारमा पहिलो हप्ता मुश्किलले ५० लाख जोड्न सक्ने बताइएको छ ।

यो फिल्मले मल्टिप्लेक्समा उच्च सोज पाएको थियो । तर, क्यूएफएक्स च्यानलमा मात्र । यो नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल हो । यसका मालिक नकिम उद्यिन हुन् । फिल्म पनि उनैले निर्माण गरेका हुन् । आफ्नोे फिल्मलाई आफ्नो हलमा उनले उच्च सोज बाँडेको थिए । प्रदर्शनको पहिलो दिन फिल्मलाई २१ सोज प्रदान गरिएको थियो । तर, दर्शक नै नआएपछि सोज लगातार घटाइएको छ ।

दोस्रो हप्ताको पहिलो दिन फिल्मलाई जम्मा ५ सोज छुट्याइएको छ । ठूलो संख्यामा सोज घटाउनुले नै बक्सअफिसमा फिल्मको अवस्था दयनिय रहेको प्रस्ट्याउँछ । माउथ पब्लिसिटी नै फिल्म चल्नु र नचल्नुको मुख्य पूर्वाधार हो । तर, यो फिल्मको माउथ पब्लिसिटी नै कमजोर रह्यो । अन्ततः वर्ष २०७५ को फ्लप फिल्मको सूचीमा ‘द म्यान फ्रम काठमाडौं’ ले आफ्नो नाम लेखाएको छ ।

यो फिल्मलाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ । किनकि, यो अंग्रेजी भाषामा छायांकन भएको फिल्म हो । र, नेपाली, बलिउड र हलिउडका कलाकारहरुको अभिनय छ । पेमा धोन्डुप निर्देशित फिल्ममा बलिउड अभिनेता गुलशन ग्रोवर, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ ।

फिल्मको प्रचारका लागि भन्दै गुलशन भारतबाट प्रदर्शनको तीन दिन अगाडि नै नेपाल ओर्लिएका थिए । प्रदर्शनको दुई दिन अगाडि पाटन पुगेर सयौं दर्शकसँग साक्षात्कार गर्दै फिल्म राम्रो बनेको र एकपटक हेर्न आग्रह पनि गरे । फिल्मको भब्य प्रिमियरमा पनि उनी उपस्थित भए । तर, उनको पारिश्रमिक र ओहोर-दोहोरका लागि निर्माण टिमले गरेको खर्च पनि फिल्मले घरेलु बजारबाट उठाउन सक्नेमा कतिपयको शंका छ ।

नेपालमा फिल्मले टिठलाग्दो व्यापार गरे पनि अब विदेश प्रदर्शनका लागि अमेरिका र अष्ट्रिलियन वितरक कम्पनीसँग निर्माण टिमले छलफल गरिरहेको छ । नेपाली दर्शकका लागि नेपाली भाषामा डब गरिएको फिल्म विदेशमा भने अंग्रेजी भाषामा नै प्रदर्शन गरिनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित