Nepal Mediciti Hospital Ad

धूम्रपान, मद्यपान र यसको नतिजा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १७, २०७५ विचार
smoking kills

धूमपान र मद्यपान महारोग नै हो । यो रोग चौतर्फी महामारीका रूपमा छ । किन दूध, दही, घिउ, माछा, मासुभन्दा धेरै मीठो लाग्छ रक्सी र चुरोट ? किन त्यो झोल यति प्रिय लाग्छ ? खै के लुकेको छ त्यो स्वादमा ? रहर, बाध्यता वा मनोरञ्जन !
हड्डी कमजोर हुने, मिर्गौला, फोक्सो र कलेजोमा खराबी हुने, ठूलो आन्द्राको क्यान्सर, भोजन नलीको क्यान्सर र आमाशयको क्यान्सर पनि धूमपानका कारण हुनसक्छ । विश्वमा प्रत्येक वर्ष लगभग ५० लाख मानिसको मृत्यु धूमपानको कारणले हुने गर्दछ । धूमपान गर्ने पुरुष र महिलाले सरदरमा १३ देखि १४ वर्षसम्म आफ्नो आयु घटाइरहेका हुन्छन् । धूमपानबाट निस्कने धुवाँमा ७० भन्दा बढी क्यान्सर निम्त्याउने रसायन हुने वैज्ञानिक भनाइ छ ।
चिकित्सकका भनाइअनुसार धूमपानले स्मरणशक्ति नाश हुने रोग ९अल्झाइमर०, क्षयरोग, अल्सर र फिस्टुलाजस्ता रोगले प्रश्रय पाउँछन् । धूमपानले गाला, गिजा, ओठ, जिब्रो मुखको भित्री भाग र माथिल्लो भागमा क्यान्सरको सम्भावना बढेर जान्छ । महिलाको प्रजनन् क्षमतामा कमी ल्याउने, गर्भधारण गर्नमा समस्या हुने, महिनावारीमा अनियमितता हुने यसका प्रमुख कारण हुन् । धूमपान गर्ने व्यक्तिमा धूमपान नगर्नेको तुलनामा दुई गुणा बढी हृदयघातको खतरा हुन्छ ।
धूमपान र मद्यपानमा यति स्वाद लिन्छन् कि जिन्दगीको भित्री शक्ति चुसिएर सुकोस् । बरु दही, दूध, घिउ प्रशस्त खाउ , रक्सी र चुरोट नखाऊ भन्दा बरु मर्न तयार हुन्छन्, खान छोड्दैनन् । एउटा बौद्घिक, शिक्षित र सम्पन्न मानिस किन नहोस् तपाईंको कलेजो बिग्रन्छ भनेर चिकित्सकले जति सम्झाए पनि खान छोड्दैनन् । ‘लागेको बानी छुट्दैन नानी’ यसै भनेका हुन् र बुढापाकाले ।
खाने बानी वा लत एक्कासी छोड्न गाह्रो हुन्छ मानिसलाई । यो झोलको कत्रो शान छ, कत्रो महिमा छ । न गुलियो न नुनिलो, त्यस्तो टर्रो झोल नाक र मुख खुम्च्याउँदै कसरी घ्वाटघ्वाट पारेर तन्काउन सकेका होलान् ? लाउँ–लाउँ र खाउँ–खाउँको उमेरमा कति युवाको प्राण सोस्न तम्सने यो तितो झोल वास्तवमा प्रथम शत्रु नै हुन पुगेका कतिपय घटना छन् र यो झोलले धेरैको ज्यान लिएको छ । यहाँ रक्सी, बियर नखानेको सङ्ख्या थोरै नै देखिन्छ । रक्सी पिएर लट्ठ हुनेको सङ्ख्या बढिरहेकै छ । अहिले जमाना उल्टो भइरहेछ । अहिले त भट्टीमा आधा रातसम्म रक्सी धोकेर बस्नेहरूको सङ्ख्या गनी नसक्नु छ ।
गाउँगाउँमा रक्सी, ठर्राको उत्पादन छ । राजमार्गको चहलपहलले रक्सी त गाउँगाउँमा पसिसकेको छ । हामी रोगलाई पैसा हालेर किनिरहेका छौँ । स्वास्थ्यलाई बिगारिरहेका छौँ । अहिले चुरोट र मदिरा राष्ट्रिय रोग भएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली जनताले कति थाम्नु धूमपान र मद्यपानको आर्थिक भारी ?
कतिपय त बिहानै उदयकालदेखि बेलुका अस्तालसम्म भट्टी पसलमा बसेर रक्सी पिइरहन्छन् । परिवार पाल्न नसक्नेहरू पनि खुट्टै टेक्न नसक्ने गरी रक्सीको नशाले लट्ठ हुन्छन् । अहिले के बाढीपीडित, के सुकुम्बासी, के भुटानी शरणार्थी, के बाहुन, के क्षत्री, के
आदिवासी–जनजाति, सबै खुलेर रक्सी पिउँछन् । मैले चिने जानेका र देखे सुनेको के युवा, के अधबैँसे, के धनी, के गरिब मदिराको झोलले आक्रान्त भएर पिल्सिरहेका छन्, परिवारलाई छट्पटाइरहेका छन् ।
चुरोट र रक्सी मात्र होइन, अफिम मात्र पनि होइन, गाँजा चरेस पनि होइन, हामीले कहिल्यै नदेखेका, नसुनेका लागू पदार्थहरू सेवन गरेर मानिसले आफ्नो जीवन नाश गरिरहेको छ । यसरी धूमपान र मद्यपानले पुरुषलाई मानवीय भावनाबाट अलग्याएर कतिपय अवस्थामा क्रुर र हिंस्रक मनोविज्ञान प्रदान गरेको छ । समयले सोमरसलाई कहाँ–कहाँ पु-याउँछ । रक्सी र बियर नभई ठूलाबडाका बिहे भोज चल्दैन । रक्सी नभई सुन्दरा–सुन्दरीको रात बित्दैन भने रक्सी र मासु नभए त अचेलको भोज नै खल्लो हुन्छ । अब त रक्सी नखाने मान्छे कहाँ पाइन्छ र प्लेटमा साँधेको भटमास र तारेको मासुको परिकार, कप र गिलासमा बियर, ह्विस्की राखेर मुस्कुराउँदै पिउने, नाचगान गर्ने, मनोरञ्जन लिने युवायुवती कम छैनन् हाम्रो समाजमा ।
कहिले तातो, कहिले चिसो पेय पदार्थको चुस्कीको रमाइलोपनमा नाच्नु, गाउनु र साथीभाइकाबीचमा एकअर्कामा सहयोग र मेलमिलाप हुनु एक किसिमले राम्रो कुरा पनि हो । आफ्नो पैसाले महिनामा एकपटक रक्सी र बियर नखानेले पनि बिहे भोजमा पुग्ना साथ साथीभाइसँगै बसेर बोतलका बोतल रक्सी सिध्याउने गरेका छन् । उहिलेका ऋषिमुनि मादक पदार्थ पिउँदैनथे तर हिजोका ती ऋषिमुनिका सन्तान आज सिसिमुनि अहोरात्र झुम्मिरहेका छन् । नानाथरी रक्सी कुन डिष्ट्रिब्युटरले सप्लाई गर्छन् भन्ने कुरा मलाई थाहा छैन । हाइनिकन वियर, कुन देशबाट आउने हो ? रेड वाइन, ह्वाइट वाइन, यसको संसार पनि कति हो कति ? त्यसकारण यसको संसार व्यापक छ, बृहत् छ र निकै महँगो छ ।
हाम्रो समाजमा विविध प्रकारका मदिरा सेवनले विकराल रूप लिँदैछ । जुन उल्लासका साथ नेपाली चाडहरू मनाइन्छन् ती उल्लासका अवसरमा र खानपानको तयारीमा पनि पुरुषहरू मदिरा सेवन र चुरोट तान्नमा व्यस्त देखिन्छन् । पुरातनकालदेखि पुरुषहरू कामको खोजीमा घरदेखि टाढासम्म पुग्ने, रक्सी र चुरोट पिउने, मनोरञ्जन गर्ने तथा महिलाहरूले घर सम्हाल्ने चलन नै छ । साहसी, बीर र बलियो पुरुष नै हुन्छ भन्ने मान्यताका कारण रक्सी र जाँड मात्ने गरी सेवन गर्ने अनि हिंस्रक गतिविधिमा सङ्लग्न हुने अधिकाँश पुरुषहरू नै छन् ।
के साहुमहाजन, के राजनीतिज्ञ, के गरिब जनता, धेरै घरपरिवारलाई धूमपान र मद्यपानले घुमाएर उठिवास नै पारेको छ । हामीले धूमपान र मद्यपान गर्ने परिवारलाई जनचेतना प्रदान गरेर सचेत र जागरुक बनाउनु पर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित