आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

छाउपडी प्रथा समस्या र समाधानका उपायहरु

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ४, २०७५ विचार
chhaupadi pratha

खस भाषाको छाउपडीलाई नेपाली भाषामा महिनावारी र शास्त्रीय भाषामा रजस्वला भनिन्छ । महिनावारी प्रक्रियालाई स्थानीय अछामी भाषामा छाउपडी भन्ने गरिन्छ । ‘छाउ’ को अर्थ छुन नहुने ‘पडी’ को अर्थ भई अर्थात् छुन नहुने भई भन्ने हो । महिनावारी वा सुत्केरी भएको अवस्थामा मुख्यतया लोग्ने मानिसले त्यस्तो स्त्रीलाई छुन हुँदैन भन्ने मान्यता छ ।
नेपाली समाजमा परम्परादेखि नै महिनावारी र सुत्केरी भएको अवस्थामा महिलालाई छुन नहुने तथा ती महिलाले मठ, मन्दिरजस्ता धार्मिकस्थलमा प्रवेश गरी पूजा पाठ गर्न नहुने र गरेको खण्डमा अशुभ हुने, आफैँलाई वा घरपरिवार समाजलाई हानि, नोक्सानी हुने भन्ने अन्धविश्वासले जरा गाडेको छ ।
धार्मिक र साँस्कृतिक मान्यताभित्र जकडिएर रहेको अन्धविश्वासी परम्पराबाट ग्रसित छाउपडी प्रथाले कट्टरतासँगै फरकफरक समयावधिलाई अपनाएको छ । यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने छाउपडी शब्दले सुदूरपश्चिमका केही क्षेत्रमा महिलाको एउटा शारीरिक अवस्थालाई जनाइने शब्द र त्यससँग जोडिएको व्यवहारको प्रतिनिधित्व गर्छ तर यो समस्या त्यहाँको मात्र होइन, नेपालको प्रायः सबै क्षेत्रमा महिनावारी भएको महिलालाई अछूत व्यवहार गरिएको पाइन्छ । जसरी अहिलेसम्म दलितले कोठा भाडामा पाउन अछूत मान्यता विद्यमान भएकै कारणले समस्या बेहोर्नु परेको छ, त्यसैगरी महिनावारी भएकै कारणले अधिकांश महिलाले चारदेखि पाँच दिन सीमित व्यवहारमा रहनुपर्ने अघोषित मान्यता छँदैछ, यहाँ मात्र तैचुप मैचुपको अवस्थाले चर्चा भएको छैन ।
राज्य सत्ताबाट लामो समय बेवास्तामा परेर शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक चेतनाको विकासमा सुदूरपश्चिम देशका अन्य क्षेत्रको दाँजोमा पछाडि नै छ । जहाँ चेतनाको स्तर राम्रो हुँदैन त्यो समाजमा अन्धविश्वासले गहिरो जरा गाडेकै हुन्छ । राजधानीमा समेत आफ्नै खालको छाउपडी प्रथा कायमै छ, जहाँ अहिले पनि कतिपय महिनावारी महिलाले छोएको पानी चल्दैन, उनीहरूले पूजाकोठा र मन्दिरमा गएर पूजापाठ गर्न पाउँदैनन् वा स्वयं त्यसका कार्यमा अग्रसर हुँदैनन् । यसर्थ गरिबी, अशिक्षा, अज्ञानताले ग्रसित तथा आधुनिक भौतिक विकासका पूर्वाधारसमेतबाट वञ्चित सुदूरपश्चिमा छाउपडी प्रथा कायमै रहनु अनौठो होइन ।
नेपाल एकीकरणमा महìवपूर्ण भूमिका निर्वाह गर्ने तत्कालीन खस राज्य र त्यस राज्य क्षेत्रभित्रका जातजाति र समुदाय एवं गाउँबस्तीहरू राज्य सत्ताको अवसर र पहुँचबाट वञ्चित र उपेक्षित हुँदै गएको कुरा कसैबाट लुकेको छैन । यसैको परिणती छाउपडी प्रथा २१औँ शताब्दीमा पनि विद्यमान छ ।
मानव जातिको फिरन्ते युगबाट कविला युगमा प्रवेश गरी एउटा निश्चित ठाउँ बस्ती एवं घरमा बस्न थालेपछि मानवीय चेतनामा अभिवृद्धि हुँदै जाँदा स्त्री जातिमा हुने विशिष्ट अवस्था महिनावारीका कारण घरपरिवारमा सरसफाइ तथा स्वच्छ वातावरण बनाइराख्न महिनावारी भएका महिलालाई सुत्ने, उठबस गर्ने अलग्गै बन्दोबस्त गरेबाट शुरुवात भएको यो व्यवहार कालान्तरमा छाउपडी प्रथाका रूपमा विकास भएको मान्न सकिन्छ ।
मानव सभ्यताको प्रादुर्भाव हिन्दु धर्म संस्कृतिबाट भएको हो । मानव जातिको चेतनाको विकाससँगै हजारौँ वर्ष पहिलेदेखि हिन्दु धर्मग्रन्थ वेद, वेदान्तका माध्यमले मानवजातिको दैनिकी, जीवन र मृत्युपछि परलोकसम्मको जीवन पद्धतिलाई सञ्चालन गर्न विधिविधान, नीति, नियम बनाएर सर्वहित विपरीत हुनबाट जोगाइ राख्नका लागि धर्म, कर्म र पापका प्रावधान विकास भएको थियो । तिनै नीतिअन्तर्गतको एउटा अंश महिनावारीसँग जोडिएका व्यवहार हुन् । महिनावारी भएको समयमा स्त्रीलाई कुनै पनि जोखिम काममा नलगाइ, कसैलाई नछोई लसपस नगरी शुद्ध, पवित्र भएर बस्नुपर्छ तथा महिनावारी भएको अवस्थामा पुरुषसँग सहवास गर्दा स्त्री, पुरुष दुवैको स्वास्थ्यलाई नकारात्मक असर
पर्छ भनी त्यसलाई पापकर्मसँग जोडिएको छ । महिनावारी भएको अवस्थामा स्त्री स्वयं कामख्या देवीको रूप हो, उनीहरूले अरूलाई पूजा गरिरहनु पर्दैन भन्ने सकारात्मक मान्यताबाट स्थापित रीतिथिति कालान्तरमा नकारात्मक प्रथाका रूपमा विकसित भएका हुन् ।
छाउपडी प्रथाको कारण
रुढिवादी, अन्धविश्वासी, धार्मिक मान्यता । सामाजिक चेतनाको अभाव र पछौटेपन । सयौँ वर्ष पुरानो रहनसहन र सामुदायिक बनोट । भौतिक विकास र आधुनिकताको कमी । शिक्षा, स्वास्थ्यको अभाव र चेतनाको कमी । पितृसत्तात्मक सोचाइ । देवीदेवता एवं भगवान्लाई आस्थाले होइन डर, कर र भरका आधारमा मानी पूजा, अर्चना गरिनु । जातीय छुवाछूतजस्ता अमानवीय विभेद कायमै रहनु । स्त्री महिनावारी र लैङ्गिकता बारे यथोचित ज्ञान नहुनु ।
छाउपडी प्रथाले पारेका असर

मनोवैज्ञानिक तथा शारीरिक स्वास्थ्यसम्बन्धीअसर :

१०–१२ वर्षको कलिलो उमेरमा रजस्वला हुँदा एउटा बालिकालाई आमाबाबु, घर परिवारका सदस्य र पूरै समाजले एक्लो पारी अछूत बनाइ घरदेखि बाहिर छाउपडी गोठमा बस्नु पर्दाको मनोवैज्ञानिक असरले स्त्रीलाई आत्मैदेखि मनोबल गिराउने गर्दछ । महिनावारी भएको अवस्थामा स्त्रीको शरीरबाट प्राकृतिक रूपमै रगत बग्ने हुँदा शरीर कमजोर भएकै अवस्थामा सुख्खा खाना दिने, भारी बोक्ने, खेत खन्नेजस्तो जोखिमपूर्ण काम गराउने तथा राति बस्न र सुत्नको व्यवस्था राम्रो नहुने हुँदा स्त्रीको शारीरिक अवस्था साह्रै कमजोर हुन्छ । महिनावारीको अवस्थामा प्राय : स्त्रीले घरदेखि बाहिर एक्लो गोठमा सुत्नुपर्ने हुँदा बलात्कारजस्ता हिंसाको शिकार हुने वा हुने जोखिमले उनीहरूमा गहिरो मनोवैज्ञानिक असर पर्न जान्छ ।

पारिवारिक असर :

महिनावारी भएको अवस्थामा स्त्रीले अलग्गै बस्नु पर्ने हुँदा घरभित्रको दैनिक काम व्यवहारमा समस्या आउँछ । सानो परिवारमा यसले भोकभोकै बस्नु पर्ने हुन्छ । महिनावारी भएको अवस्थामा गाईवस्तु समेत छुन नहुने हुँदा घर परिवारको दैनिक कामव्यवहारमा असर पर्न गई परिवारको आर्थिक अवस्थामा समेत असर पर्छ । प्राय : लोग्ने मान्छे कमाइ गर्न घरदेखि बाहिर हुने हुँदा छाउपडीको अवस्थामा बालबच्चा र घर व्यवहार कठिन बन्छ ।

सामाजिक असर :

छाउपडी प्रथाले ग्रसित समाज प्रगतिको बाधक हो । समाजमा स्त्रीमाथि गरिने अमानवीय व्यवहार छाउपडी प्रथाले सामाजिक वातावरण नै धमिल्याएको हुन्छ । यसले समाज पछौटेपनमा जाकिएको छ ।

शैक्षिक असर :

महिनावारी भएको अवस्थामा प्रायः जसो छात्रा विद्यालय जाँदैनन् । अझै पनि छाउ भएकीले कापी, किताब छुनु हुँदैन भन्ने मान्यता रहेको छ । महिनामा एक हप्तासम्म विद्यालय नगएका छात्राको पढाइ बिग्रने हुँदा अध्ययनमा स्त्रीको अवस्था कमजोर हुँदै जान्छ र विद्यालय छोड्ने प्रवृत्ति बढ्दो छ ।

लैङ्गिक विभेदमा वृद्धि :

पुरुष–स्त्रीबीचको लैङ्गिक समानता र विशिष्टताको राम्रोसँग ज्ञान तथा शिक्षाको कमीका कारण लैङ्गिक विभेद र स्त्री हिंसामा वृद्धि भएको पाइन्छ । यसबाट स्त्री जातिको शारीरिक, मानसिक, सामाजिक मानसम्मानमा असर परेको छ । आर्थिक उन्नति र प्रगतिको बाधक बनेको छ ।

बालबच्चामा असर :

स्त्रीले बच्चा जन्माएको छ महिनादेखि एक वर्षभित्र पुनः महिनावारी शुरु हुने हुँदा ऊसँग रहेको बच्चालाई पनि सँगै गोठमा राख्नुपर्दा बच्चाको शारीरिक स्वास्थ्यमा असर पर्न जान्छ । बच्चा कुनै दुर्घटनामा पर्ने जोखिम पनि बढ्छ ।

राष्ट्रलाई असर :

छाउपडी प्रथाले स्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्य, आर्थिक अवस्था, घर व्यवहार, सामाजिक विभेद, लैङ्गिक असमानता, बालबच्चाको मनोवैज्ञानिक एवं शारीरिक स्वास्थ्यमा समेत असर पर्ने हुँदा यसको सम्पूर्ण असर अन्ततः राज्यलाई पर्छ ।

छाउपडीसँग जोडिएका समस्या

१. महिलाको मानसिक र शारीरिक समस्या ।
२. सङ्क्रमक रोगले समात्ने समस्या ।
३. स्त्री र पुरुषबीचको लैङ्गिक विभेद ।
४. बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यको समस्या ।
५. परम्परावादी रहनसहन र भेषभूषामा परिवर्तन ल्याउन नसकेको समस्या ।
६. गाउँबस्ती, घर, टोल तथा निर्माण संरचना अवैज्ञानिक पुरानो ढाँचामै रहेकाले सफासुग्घर र सरसफाइको समस्या ।
७. खानेपानी, चर्पी निर्माण र सरसफाइको समस्या ।
८. राज्य पक्षले विकास र अवसरबाट वञ्चित गरी सौतेलो व्यवहार गरेको समस्या ।
९. सामाजिक चेतना अभिवृद्धि बढाउन नसक्नु ।
१०. शिक्षाको अभाव ।
११. गरिबी, बेरोजगार, परम्परावादी कृषि पेसा ।
१२. पढीलेखी शिक्षित भएका र आर्थिक सम्पन्नता उन्मुख व्यक्तिहरू दुर्गम जिल्लाबाट पलायन हुने समस्या ।
१३. शान्ति, सुरक्षा र कानुनको उपस्थितिको अभावले निम्त्याउने स्त्रीविरुद्धको हिंसा ।
१४. छाउपडी प्रथालाई न्यूनीकरण गर्दै उन्मूलन गर्ने कार्ययोजनासहित सरकारी पक्ष र गैरसरकारी पक्षको ठोस कार्यक्रमको अभाव ।
१५. छाउपडी गोठमा चिसोले कठ्याङ्ग्रिएर र बाघले खाएर अकालमा मारिने अवस्था ।
१६. यौन शिक्षाको अभावका कारण अधिकांश किशोरी महिनावारीका कारण मानसिक तथा शारीरिक पीडाका साथै मनोवैज्ञानिक रोगबाट ग्रसित हुने समस्या ।

समाधान तथा न्यूनीकरण

छाउपडी प्रथाको समस्या सुदूरपश्चिमको मात्र नभएर समग्र राष्ट्रकै समस्या हो । छाउपडी प्रथा समस्या समाधान तथा न्यूनीकरणको दायित्व सरकारको नै हो । सामाजिक सङ्घ, संस्था, अधिकारवादी, कानुन व्यवसायी तथा सञ्चार माध्यमले यस कार्यमा महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । छाउपडी प्रथालाई आधार बनाएर धार्मिक, साँस्कृतिक आस्थामा प्रहार गर्ने र घरपरिवार तथा समाजमा विखण्डन ल्याउने खालका गतिविधिले समस्या समाधान हुनुको सट्टा झनै बढ्नेतर्पm सचेत हुनु पनि उत्तिकै जरुरी छ ।
यो समस्या समाधानका लागि मानिसको आर्थिक अवस्था उकास्ने, शिक्षा स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्ने, भेषभूषा, रहनसहनमा परिवर्तन ल्याउने, ग्रामीण महिलालाई कट्टु लागाउने, परेका बेला प्याड प्रयोग गर्ने आदि सुधार र चेतनाका कार्य गरिनुपर्छं । साथै महिलालाई स्थानीय तहले छाउपडी भत्ताको व्यवस्था गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित