Nepal Mediciti Hospital Ad

कर्मचारीतन्त्र र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध

तपाईको खबर संवाददाता प्रकाशित : माघ २४, २०७५ विचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/burocracy.jpg

मूलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहमा पहिलोपटक जनताबाट निर्वाचित सरकारहरू गठन भएका छन् । यी सरकारहरूमाथि संविधानले निर्दिष्ट गरेअनुरूप मुलुकमा गणतन्त्रको सुदृढीकरण गर्दै जनताको विकास र समृद्धिको चाहनाअनुरूप भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । निर्वाचित सरकारका यी ऐतिहासिक जिम्मेवारी पूरा गर्न कर्मचारीतन्त्रको महìवपूर्ण भूमिका हुन्छ ।
कर्मचारीतन्त्रलाई योग्यतामा आधारित संयन्त्रको रूपमा लिइन्छ । कर्मचारीतन्त्रले विवेकसम्मत् ढङ्गले कार्य सम्पादन गर्ने, सरकारको फेरबदल भई रहे पनि यसले निरन्तररूपमा संविधान र कानुनले निर्दिष्ट गरेअनुरूप कार्य गरी जनतालाई हाम्रो सरकार छ भने अनुभूतिका साथ सेवा प्रवाह गरिरहनुपर्छ भन्ने मान्यता राखिन्छ । यस्तै कर्मचारीतन्त्रले संविधान, कानुन नीति नियमको तर्जुमा गर्न राजनीतिज्ञको सहयोगी, संसद्बाट पारित कानुनको पालना गर्ने, गराउने भूमिका खेल्नुका साथै निश्चित अनुशासन र आचरणका मूल्य र मान्यता अनुरूप सञ्चालन भइरहेको हुन्छ । कर्मचारीतन्त्रभित्र संस्थागत स्मरण ९इन्स्टिच्युसनल मेमोरी० को लिखित निर्णय र कार्य प्रणाली हुन्छ । व्यक्ति फेरबदल भए पनि यसले संविधान, कानुनको रक्षा र पालनामा तथा जनताको सेवा प्रवाहमा कुनै पनि किसिमको रिक्तता हुन दिँदैन । कर्मचारीतन्त्रभित्र श्रम विभाजनमा आधारित कार्यसंरचना र पद सोपानको संरचनाको व्यवस्थाअन्तर्गत उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानको जिम्मेवारी प्रदान गर्ने व्यवस्था हुन्छ । कर्मचारीतन्त्रले स्वच्छ निष्पक्ष, तटस्थ भूमिका खेल्ने मान्यता राखिन्छ ।
कर्मचारीतन्त्रका यी माथि उल्लेखित आदर्श, गुण र विशेषताहरू हुने परिकल्पना गरिए पनि व्यवहारमा अझै कर्मचारीतन्त्रले दूरदृष्टिका साथ आफ्नो ध्येय, लक्ष्य, उद्देश्य र कार्ययोजना तर्जुमा गरेर ‘मिसन’ का साथ हिँड्न नसकेको सर्वत्र टिप्पणी हुने गरेको छ । कार्यालयमा दश बजे पुग्ने, जे काम आई लाग्छ गर्ने र पाँच बजे घर फर्कने प्रक्रियाबाटै पेन्सन पकाउने गोल चक्करबाट कर्मचारीतन्त्र चलिरहेको टिप्पणी गरिन्छ ।
कर्मचारीतन्त्रमा सबैभन्दा उत्कृष्टहरूको छनोट हुने भएको हुँदा यसलाई योग्यता प्रणालीमा आधारित संयन्त्र भनिएको हो तर व्यवहारमा कर्मचारीतन्त्रले आफ्नो योग्यता, सक्षमतालाई अझै प्रदर्शित गर्न नसकेको टिप्पणी हुने गरेको छ । जटिल र चुनौतीपूर्ण कार्यबाट पन्छिने, जोखिम लिन नचाहने, सामान्य समस्या आउने वित्तिकै अनेक बहाना देखाउने र पन्छिने, विगतमा अस्थिर सरकारहरू भएका कारण अब नयाँ सरकार आएपछि गर्ने वा यो सरकार गइहाल्छ किन जोखिम लिएर काम गर्ने रु जस्ता मानसिकता, प्रवृत्ति र व्यवहारबाट कर्मचारीतन्त्र सञ्चालन हन थाल्यो भने राष्ट्र र जनताप्रतिको अभिभारा पूरा हुन्न ।
कर्मचारीतन्त्र वास्तवमा आफैँमा सक्षम, योग्यहरूको समूह हो । राजनीतिज्ञहरू त जनताका प्रतिनिधि हुन्, औसत जनताको चेतना र स्तरकै प्रतिनिधित्व निर्वाचित जनप्रतिनिधिले गर्छन् तर कर्मचारीतन्त्रले राजनीतिज्ञलाई सही सल्लाह, सुझाव दिनुको सट्टा घुमाइदिने गरेको, जनताको हितमा गर्न चाहिरहेका कामलाई पनि अनेक बहाना देखाएर, निर्णय हुन नदिने गरेको आदि टिप्पणी हुने गरेको छ । कर्मचारीतन्त्रभित्र विकसित हुँदै गएको आत्मकेन्द्रित सोच, अतिरिक्त लाभ लिन उद्यत प्रवृत्तिका कारण राजनीतिज्ञसँगको सामीप्यता, चाटुकार र धनुष्टङ्कार प्रवृत्तिले गर्दा कर्मचारीतन्त्रभित्रका सक्षम व्यक्तिहरू पनि राजनीतिज्ञको लाचार छायाँ बन्न पुगेका छन् । यसले गर्दा उनीहरूमा सक्षमता एवं सिर्जनात्मकता र नवीन सोच चिन्तनका साथ कार्य गर्ने पद्धतिमा ह्रास आउन थालेको छ ।
कर्मचारीतन्त्रले राष्ट्र र जनताका लागि सेवा गरेका अनुभवहरू वास्तवमा राष्ट्रका लागि सम्पत्ति हुन् । ती अनुभवहरू राजनीतिज्ञ र भावी पुस्ताका लागि अनुकरणीय हुन्छन् तर कर्मचारीतन्त्रले ज्ञान अनुभवको आदान प्रदान गर्दैन । आफ्नो हितका लागि अध्ययन, चिन्तन र लेखन गर्नेबाहेक राष्ट्रका लागि अनुभवको आदानप्रदान नगर्ने भनेर गरिने टिप्पणी दुःखद छ । राज्यले कर्मचारीतन्त्रभित्रका जनशक्तिलाई लाखौँ करौडौँ खर्च गरी लगानी गरिरहेको हुन्छ तर ती सबै लगानी वैयक्तिक हितका लागि मात्र हुन जाँदा व्यक्ति मोटाउने र राज्य खोक्रो बन्दै जाने निश्चित छ । सुशासनमा मितव्ययिता र आर्थिक अनुशासन अत्यन्तै महìवपूर्ण तìवहरू हुन् तर महँगा र विलासीयुक्त सरकारी सुविधाको उपयोग र उपभोक्तामुखी शैली यतिखेर कर्मचारीतन्त्रको जीवनशैली बन्दैछ । उच्चपदस्थ अधिकारी हुनेवित्तिकै पजेरो, प्राडो सवारी साधन, महँगो मोबाइल, ल्यापटप नै उपयोग गर्नुपर्ने प्रचलन बढ्दै गएको छ । यही सिको गर्दै राजनीतिज्ञमा पनि सरकारी सुविधाप्रति जीवनभर लालयित हुने प्रवृत्ति बढ्दैछ र कर्मचारीतन्त्र यसको किनाराको साक्षी बन्दै गएको छ ।
सङ्घीय राज्य प्रणालीमा जनताबाट निर्वाचित तीनवटै तहका सरकार अब पूरा अवधि सञ्चालन हुने छन् । हिजोझैँ सरकार बनाउने र गिराउने अस्वस्थ र फोहोरी राजनीतिक अभ्यासको अन्त्य भएको छ । अब राष्ट्रको गन्तव्य विकास, समृद्धि, सुशासन, सामाजिक न्याय भएको छ । हिजोझैँ ‘भोलि गर्ने’ भनेर वा ‘पछि हेरौँला’ भन्दै काम पन्छाउने स्थिति छैन । अत्यन्तै नवीन सोच चिन्तनका साथ सिर्जनात्मक भएर नीति योजना कार्यान्वयन गरिहाल्नुपर्नेछ । जनताले एकपटक सेवा प्राप्त गरेपछि सदैव सम्झना गरिरहने र सेवाको प्रशंसा गरिरहने गरी कार्य सम्पादन गर्नुपर्छ ।
अब कर्मचारीतन्त्रभित्र विकसित आत्मकेन्द्रित र हाकिममुखी चिन्तनको भद्दा प्रवृत्तिलाई हटाउनुपर्छ । समूह कार्यलाई जोडदिने, नीति तर्जुमा र निर्णय गर्दा सरोकारित सबै पक्षको सहभागिता गराएर निर्णय गर्ने पद्धतिको विकास गर्नुपर्छ । राजनीतिज्ञसँगको सम्बन्ध आफ्नो फाइदा लिनसँग सम्बन्धित भएर होइन, परिभाषित काम केन्द्रित भएर विकास गरिनुपर्छ । आस्था विचारका आधारमा राजनीतिकर्मीसँग नजिक वा टाढा रहने, असहयोग गर्ने कार्यशैलीमा विल्कुल सुधार गर्नुपर्छ । कर्मचारीतन्त्रले ‘टेक्नोक्रेट’ मात्रै भएर होइन, राजनीतिक एवं आर्थिक विषयको ज्ञाता पनि भएर राजनीतिकर्मीलाई सही सल्लाह सुझाव दिनुपर्छ ।
मितव्ययिता र आर्थिक अनुशासन कायम गर्न कर्मचारीतन्त्र आफैँ तयार हुनुपर्छ । सार्र्वजनिक सम्पत्तिको दुरुपयोग र चुहावट हुन नदिने र राष्ट्रको दुर्लभ स्रोत साधनलाई देश विकासमा सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्ने भावना विकास गर्नुपर्छ ।
कर्मचारीको पदस्थापना र सरुवा पद्धतिमा आमूल सुधार गर्नुपर्छ । उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानको अवधारणाालाई साँच्चिकै व्यवहारमै लागू गर्नुपर्छ । हरेक व्यक्तिलाई लक्ष्य, नीति र कार्यक्रम अनुरूपको कार्य जिम्मेवारी प्रदान गर्ने, लक्ष्यअनुरूप काम भए नभएको प्रभावकारी तवरले अनुगमन गर्ने र कामलाई लक्ष्य उन्मुख बनाउन प्रेरित गर्ने, सम्पादित कामको वस्तुनिष्ठ समीक्षा गर्ने, राम्रो काम गर्नेलाई पारदर्शी तवरले पुरस्कृत र दण्ड गर्ने पद्धतिको विकास गर्नुपर्छ । कर्मचारीतन्त्रको सक्षमता, योग्यता, क्रियाशीलता, सिर्जनात्मकता, तत्परता, जवाफदेहीपनमा नै निर्वाचित सरकारको सफलता निर्भर गर्छ । कर्मचारीतन्त्रको जनमुखी सोच चिन्तन र व्यवहारले नै जनताले गुणस्तरीय सेवा प्राप्त गर्छन् । यसका साथै जनप्रतिनिधिले पनि कर्मचारीलाई उत्पे्ररित भएर काम गर्ने वातावरण बनाउनुपर्छ । बदलिँदो परिवेशमा कर्मचारीतन्त्रले आफूलाई सुधार र रूपान्तरण गर्ने र जनप्रतिनिधिले पनि कर्मचारीतन्त्रलाई उत्प्रेरित गरेमात्र राष्ट्र र जनतासामु रहेका अभिभारा पूरा गर्न कर्मचारीतन्त्र सक्षम हुने विश्वास लिन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित