Nepal Mediciti Hospital Ad

‘ग्लोबल वार्मिङ’ ले पृथ्वि धरापमा

तपाईको खबर संवाददाता प्रकाशित : माघ १३, २०७५ विचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/global-warming.jpg

विश्वका करिब दुई सय राष्ट्रका प्रतिनिधि सहभागी रहेको २४औँ राष्ट्रसङ्घीय जलवायु सम्मेलन सन् २०१८ डिसेम्बर २ देखि १४ सम्म पोल्यान्डमा भएको थियो । यो सम्मेलनमा नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको थियो । जलवायु परिवर्तनका कारण मानव बासस्थानका लागि उपयुक्त एकमात्र पृथ्वीको हालत पनि अरू ग्रहहरूजस्तै मानवविहीन वा मानव बाँच्न कठिन हुन सक्ने सम्भावनाहरू देखिएकाले त्यसको निराकरणका लागि हो दुई सय देशका उच्चपदस्थ व्यक्तिहरू एउटै ठाउँमा भेला भएका थिए ।
पृथ्वीको वायुमण्डलमा पाइने मुख्य हरित गृह (ग्रीन हाउस) ग्यासहरू जस्तै कार्बनडाइअक्साइड, ओजोन र नाइट्रसअक्साइडले पृथ्वीवरिपरि सुरक्षा कवचको काम गरेका हुन्छन् । यी ग्यासहरूले सूर्यका लाभदायक किरणहरूलाई पृथ्वीमा प्रवेश गर्न मद्दत गर्छन् भने हानिकारक विकीरणहरूलाई वायुमण्डलबाटै फर्काइदिन्छन् । पृथ्वीमा आइपुग्ने सूर्यको जम्मा तापशक्तिको ८५ प्रतिशत पानी, माटो तथा अन्य पदार्थहरूले ग्रहण गर्छन् भने बाँकी १५ प्रतिशत पृथ्वीको सतहबाट परावर्तन हुन्छ । यसरी परावर्तन भएको सौर्य तापलाई पृथ्वीको वायुमण्डलले बाहिर जान दिँदैन । यसले गर्दा पृथ्वीमा औसत १५ डिग्री सेल्सियस तापक्रम सन्तुलन भएको हुन्छ । जसले मानव तथा अरू प्राणीहरूलाई पृथ्वीमा बाँच्नका लागि अनुकूल वातावरण कायम गरेको हुन्छ । जनसङ्ख्या वृद्धि, सहरीकरण, वन–जङ्गलको विनाश, औद्योगिकीकरण तथा गाडीहरूबाट उत्पन्न हुने कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, मिथेन, सल्फर–डाइअक्साइडजस्ता विभिन्न ग्यासहरू वायुमण्डलभन्दा बाहिर जान सक्दैनन्, जसले गर्दा पृथ्वीमा बाँच्नका लागि उपयुक्त तापक्रमलाई बढाउँदै लगेको छ ।
मानवीय गतिविधिका कारण उत्पन्न भएका यस्ता विभिन्न ग्यासहरूले ओजोन तह पातलिँदै गएको विभिन्न अनुसन्धानबाट पत्ता लागिसकेको छ । अन्टार्कटिकामाथि ओजोन तह पातलिँदै गएर छिद्र बनिसकेको छ । यो तथ्य जे फर्मान र जोनाथन कश्याङ्कलिनले सन् १९८५ मेमा पत्ता लगाउनुभएको थियो । पछि नासाका वैज्ञानिकहरूले यसलाई थप पुष्टि गरे । यस्ता छिद्रबाट सिधै पृथ्वीमा आइपुग्ने खतरनाक परावैजनी विकीरणले छाला, आँखालगायत विभिन्न अङ्गमा समस्या पैदा गर्नुका साथै क्यान्सरजस्तो घातक रोग पनि लाग्ने सम्भावना हुन्छ । विभिन्न तथ्यहरूले यी ग्यासहरूको असरले ओजोन तह युरोपमा भन्दा अस्टेलियामा अझै बढी पातलिँदै गएको देखाएका छन् ।
मान्छेका विभिन्न गतिविधिले हरितगृह ग्यासहरूको मात्रा बढेसँगै विश्वव्यापी तापमानमा वृद्धि भई जलवायु परिवर्तन अति नै तीव्र रूपमा हुन थालेको छ । कुनै स्थानको जलवायु परिवर्तन भए नभएको पत्ता लगाउन कम्तीमा तीस वर्षभन्दा माथिको समय राख्नुपर्दछ । अहिलेका विभिन्न अध्ययन तथा अनुसन्धानहरूले के देखाउँछ भने विगत सय वर्षमा समुद्रको सतह १२.५ सेन्टिमिटरले बढेको छ भने प्रत्येक वर्ष पृथ्वीको तापक्रम शून्य दशमलव ०६ डिग्री सेल्सियसका दरले वृद्धि हुँदै गएको देखाएको छ । त्यसैगरी सन् २००० देखि सन् २०३० सम्म पृथ्वीको औसत तामक्रम १ दशमलव २ डिग्री सेल्सियसका दरले बढ्ने अनुमान प्रक्षेपण गरिएको छ । सन् २०५० सम्म १ दशमलव ७ डिग्री सेल्सियस र सन् २१०० सम्म ३ देखि ६ डिग्री सेल्सियससम्म बढ्ने अनुमान प्रक्षेपण गरिएको छ ।
यदि विश्वको तापक्रम २ डिग्री सेल्सियसबाट बढ्ने हो भने प्रत्येक दस वर्षमा एक वर्ष हिउँ नै नपर्ने हुन्छ । यसो भए नेपाललगायत अन्य ठाउँका हिमालयहरू हिउँविहीन हुनेछन् । सन् १८५० देखि हिमनदीहरू पग्लिने प्रक्रियामा तीव्रता आएको हो । जसले गर्दा स्वच्छ खानेपानीको दिनप्रतिदिन अभाव हुँदै गएको छ । हिउँ पग्लेर सामुद्रिक सतहको वृद्धिसँगै टापुजन्य देशहरू डुब्नेजस्ता समस्या देखापर्न थालेका छन् । सन् २०१५ मा गरिएको अनुसन्धानअनुसार अहिलेकै गतिमा तापमान बढ्दै जाने हो भने आगामी ३० वर्षभित्र माल्दिभ्स समुद्रमा विलय हुने सम्भावना देखिएको छ । अनुसन्धानकर्ताहरूले सन् २०३५ सम्ममा मध्य तथा पूर्वी हिमालयहरू लोप हुन सक्ने अनुमान गरेका छन् । हालसालै भारतको गढवालमा गरिएको अनुसन्धानअनुसार धु्रवीय क्षेत्रको हिउँ विगत ३० वर्षमा १० प्रतिशतका दरले घटेकोे छ ।
विश्व जलवायु परिवर्तनको प्रक्रियासँगै धु्रवीय हिउँ अकल्पनीय रूपमा पग्लन थालेपछि सेतो भालु, पेन्गुइन र सिल माछालगायतका धु्रवीय प्राणीहरू लोप हुने अवस्थामा पुगेका छन् । यी प्राणीहरू वैज्ञानिकहरूले कल्पना गरेकोभन्दा छोटो समयमा लोप हुने भएका छन् । हिमभालुको मुख्य खाना सिल माछा हो । एउटा सिल माछा एउटा वयस्क भालुका लागि दस दिनका लागि पर्याप्त हुन्छ । हिउँ पग्लिनेक्रम बढेसँगै सिल माछा पाउन छाडेका छन् । यसका कारण एउटा भालुले अर्कोलाई मारेर खान थालेका छन् । अहिलेसम्मको प्राणीजगत्को अध्ययनमा माछाबाहेक अन्य प्राणीले स्वजातीय आहार गरेको कमै पाइन्छ । खानाको कमीले भोकमरीको सिकार धेरै हिमभालुहरू भइसकेका छन् ।
नेपालमा हिमचुलीहरू कालापत्थर देखिन थालेका छन् । उदयपुर, कैलाली लगायतका चुरे क्षेत्रमा अहिलेसम्म नसुकेका पानीका मुहानहरू सुक्न थालेका छन् । फलस्वरूप त्यहाँका जङ्गलमा पाइने नील गाई, झारल, घोरल, मयुरजस्ता जङ्गली जनावरहरू लोप हुन थालेका छन् । पहाडका विभिन्न जिल्लामा कतिपय अन्नबालीहरू लोप हुन थालेका छन् । विगत केही वर्षदेखि जाडो मौसममा पानी पर्नेक्रम घटेकाले चिसो घट्दै जानु, गर्मीमा प्रत्यक्ष गर्मी अनुभव हुँदै जानु पनि जलवायु परिवर्तनकै कारण हो ।
अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (आईसीसी) ले विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसमा सीमित पार्न हरितगृह ग्यासलाई सन् २०३० सम्म ४५ प्रतिशतले कटौती गर्नुपर्ने बताएको छ । तर, कृषि तथा औद्योगिकीरणमा असर पु-याउने भन्दै अमेरिका, ब्राजिललगायत विकसित देशहरूले यो जलवायु परिवर्तनसम्बन्धी सम्मेलनबाट बाहिरिने निर्णय गरेका छन् । विकसित देशका कामहरूले गर्दा अत्यधिक ग्यास उत्पादन हुन गई बढ्दो विश्वव्यापी तापमानको असर नेपालजस्ता जैविक विविधताले भरिपूर्ण, थोरै जनसङ्ख्या र अविकसित देशका जनताले भोग्नुपरेको छ ।
यसरी भयानक रूपमा देखिएको वायुमण्डलीय तापमान वृद्धि रोकेर त्यसका प्रतिकूल असरहरूबाट प्राणी जगत्को रक्षा तथा प्रकृतिको सन्तुलन कायम राख्न आवश्यक छ । यसका लागि विकसित देशलगायत अरू सबै देशहरूले बढी कार्वन उत्सर्जन गर्ने इन्धनहरूको प्रयोगमा कटौती गर्ने, सौर्य तथा विद्युतीय ऊर्जालाई बढावा दिने गर्नु उचित हुन्छ । प्लाष्टिक, टायर बाल्ने, पुराना यातायातका साधनहरूको प्रयोगमा कटौती गर्न जरुरी देखिएको छ । अनावश्यक इन्धनको प्रयोग गरेर, चाहिनेभन्दा बढी उत्पादन गरेर खेर फाल्नुभन्दा कमभन्दा कम इन्धनको प्रयोग गर्नु हाम्रै भविष्यका लागि राम्रो हुनेछ । वन–जङ्गल जोगाएर कार्वन खपत गर्ने अल्पविकसित देशलाई विकसित देशले उचित अनुदान दिनुपर्छ । ढिलो नगरी सबैले एकजुट भएर आफ्नो ‘घर’ पृथ्वीको रक्षा गर्नु अनिवार्य भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित