Nepal Mediciti Hospital Ad

‘जय भोले’ को ५१ औं दिन, न्यानो बाँड्दै खुसी साटासाट

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २२, २०७५ फिल्म-संगीत
jaya-bhole11

प्रदर्शनको एकाउन्न र सय दिन त टाढाको कुरा अहिले नेपाली फिल्मलाई हलमा एक हप्ता टिक्न मुश्किल हुन्छ । दशक अगाडि निर्माण भएका प्रायः फिल्मले सजिलै एकाउन्न र सय दिनको यात्रा पूरा गर्दथे । निकै कम संख्यामा फिल्म निर्माण हुने र हल पनि प्रयाप्त नहुने हुँदा नेपाली फिल्मका लागि सय दिन मनाउनु सामान्य मानिन्थ्यो ।

तर, डिजिटल युगको आरम्भ सँगै नेपाली फिल्मका लागि अब यो ‘एकादेशको कथा’ हुन थालेको छ । अहिले हप्तामा दुईभन्दा बढी फिल्म भिड्नु पर्ने अवस्था छ । अब निर्माताका लागि एकाउन्न दिन होइन एक हप्ता हलमा सफलतापूर्वक टिके सबैभन्दा ठूलो ‘अचिभमेन्ट’ हो । यसबीच पनि केही फिल्म भने ‘अपवाद’ छन् ।

फिल्म ‘परदेशी’ र ‘कोहिनूर’ पछि फिल्म ‘छक्का पञ्जा’ ले एकाउन्न दिन पार गर्दै सय दिन मनाएको थियो । यो फिल्म रिलिजको एक वर्षसम्म कुनै फिल्म ५१ दिनको खुड्किलोसम्म पुग्न सकेनन् । फेरि यसको दोस्रो सिरिज सफल भयो । गएको मंसिर १३ गते यसको तेस्रो सिरिजले पनि १३ वटा हलमा प्रदर्शनको ५१ औं दिने यात्रा सफलतापूर्वक पार गरेको छ ।

राजधानीमा ग्राण्ड इभेन्ट गरेर केही दिन अगाडि निर्माण टिमले प्रदर्शनको ५१ औं दिने सफलताको पार्टी आयोजना गरेको थियो । यस लगत्तै दशैंको फूलपातीमा प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ ले पनि प्रदर्शनको ५१ औं दिने सीमा रेखा नाघेको छ । तर, निर्देशक तथा निर्माता अशोक शर्माले खुसी साट्न पार्टी दिएनन्, आश्रममा सहयोग गरेका छन् ।

शुक्रवार दिउँसो सामाखुसीमा रहेको मावन सेवा आश्रममा निर्माण टिमले न्यानो कपडा बाँड्दै ५१ औं दिने सफलताको खुसी साटासाट गरेको छ । आश्रममा आश्रित मानसिक सन्तुलन गुमाएका ५० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गर्दै एक छाक खाना पनि निर्माता शर्माले खुवाए ।

कलाकारहरु खगेन्द्र लामिछाने, सौगात मल्ल, जयनन्द लामा, शारदा गिरी, छायाँकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक बसन्त श्रेष्ठ उपस्थित कार्यक्रममा निर्देशक शर्माले आफूले १७ वर्ष अगाडि फिल्म ‘अल्लारे’ ले ५१ औं दिन मनाउँदा पनि वृद्धवृद्धालाई सहयोग गरेको सम्झिए । उनी वृद्धवृद्धालाई सहयोग गर्दा मिल्ने खुसी अरु काममा नमिल्ने बताउँछन् ।

फिल्म ‘जय भोले’ ले ४ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । निर्देशक शर्माले १२ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्मले एकाउन्न दिन मनाउँदा निकै उत्साहित रहेको बताए । उनी खुसी मुद्रामा भन्छन्, ‘अब निर्देशनबाट टाढा रहँदिनँ ।’ उनले अर्को वर्षको दशैंमा प्रदर्शनमा ल्याउने गरि फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित