मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

भ्रष्टहरूको संसार

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ९, २०७५ विचार
ramnarayan-bidari-tapaikokhabar

रामनारायण बिडारी

ठेक्का दिने लिने दुईथरी मिलेर मुलुक सिध्याउने गर्दारहेछन् । ठेक्का दिने सरकारका घुस्याहा पदाधिकारी, ठेक्का लिने नाफाखोर दलाल ठेकेदार । यिनलाई संरक्षण दिने पहिले राजाका ताबेदार दलालहरू, अहिले अपराधी दलका नेता । यिनैबाट देश, जनताको बर्बाद भइरहेको छ । सरकारका स्थानीय तहका कुनै पनि कार्यालयदेखि मन्त्रालयमा समेत घुसविना काम चल्दैन ।
घुस्याहालाई कारबाही गर्ने निकायको व्यक्तित्व पनि घुस खुवाएर पदमा जान्छ र घुसै खान्छ । आयोजनाको प्रमुख ठेक्काको म्याद थप्दा घुस खान्छ । ठेक्का तोड्दा अर्को पक्षबाट घुस खान्छ । कर्मचारी सरुवा गर्दा नेतासमेतले घुस लिन्छ । बढुवा गर्दा घुस लिन्छ । एक कर्मचारीलाई घटुवा गर्दा पनि फाइदा पुग्ने अर्को कर्मचारीबाट हाकिमले घुस खान्छ । सामान्य कर्मचारीको ध्याउन्न हुन्छ– हाजिर गरेबापत तलब लिन्छु, काम गरेबापत घुस लिन्छु ।

कर्मचारी नियुक्त गर्दा घुस खाएर परीक्षा लिइन्छ । घुस खुवाएर परीक्षा दिइन्छ । अनि त्यही कर्मचारी सामान किन्दा घुस खान्छ । व्यापारीले सामान बेच्दा घुस लेनदेन गर्छ । यिनीहरूले चुनावमा नेतालाई घुस दिन्छन् । नेताले त्यो घुस उसका मतियारलाई बाँड्छ । मतियारले गुनगान गाउँछ । अनि त्यो नेताले सप्ताह (यज्ञ)मा चन्दा दिन्छ । अनि गाउँलेले बाजा बजाएर त्यो कालोबजारी, तस्करी गर्ने व्यापारी र नेतालाई घुमाएर सम्मान गर्छन् । एक सय रुपियाँ पर्ने ठेक्का २५ रुपियाँमा पनि दिन सरकार तयार हुन्छ । त्यो ठेक्का स्वीकृत गर्दा पनि घुस खाइन्छ । पेस्कीबापत अग्रिम रकम ठेकेदारलाई दिइन्छ । यस्तो नियम सरकारका पदाधिकारीहरू आफैँ बनाउँछन् । त्यसरी कामै नगरी पाएको रकम गाउँका लुच्चा, फटाहा, गुण्डालाई सापटी वा चाडपर्व खर्च भन्दै बाँडिन्छ ।

हरेक दशैँ वा चाडमा नेताले कार्यकर्तालाई खर्च बाँड्छ । त्यो रकम कालाबजारिया अपराधी, कालो सूचीमा राख्नुपर्ने ठेकदार दोकानदारसँग लिन्छ र बाँड्छ । त्यो रकम व्यापारीसँग मिलेर, कर बढाइदिएर वा नक्कली, दूषित सामान जनतालाई बेच्न दिएर असुल गर्छ । अनि गुण्डा फटाहाहरूले ‘हाम्रो नेता राम्रो नेता’ भन्दै सोझा जनतालाई कुट्दै हिँड्छन् । यसलाई दलको भिडन्त नाम दिइन्छ । फेरि अपराधी उही देश र जनताको द्रोही नेताकहाँ पुग्दछ । घाइतेले भन्छ– फलानो दलले कुट्यो । कुट्नेले भन्छ, ‘हैन फलानो दलले कुटायो !’ यसको छानबिन गर्न समिति बन्न आह्वान हुन्छ अनि त्यसमा बस्नका लागि लालायित व्यक्तिसँग फेरि नेताले घुस माग्छ । घुस ख्वाएर छानबिन समितिमा बस्न पुग्छ । अनि सरकारी पैसा, गाडी, सुरक्षा लिएर गाउँमा जान्छ र बयान मिलाउन घुस माग्छ । प्रतिवेदन मिलाउन घुस माग्छ ।
घुसैका आधारमा मुद्दा दायर हुन्छ । मुद्दामा फेरि घुसको नै मेलो सुरु हुन्छ । अदालत पनि भ्रष्टाचारमुक्त छैन भनेर प्रधानन्यायाधीश भएका र हुनेक्रममा भएकाहरू भन्न थाल्दछन् । यो घुसको सुरु र अन्त्य कहीँबाट भएको फेलापार्न सकिएन । यो अनन्तजस्तो भयो ।
जागिरे खान नपुग्ने तलब छ भन्छ तर करोडौँको अचल सम्पत्तिको मालिक केही वर्षमा नै हुन्छ । सर्वहारा नेता हुँ भन्छ तर संसारको सबैभन्दा विलासी जीवन बिताएर बसेका मान्छेसंँग दाँजिएको देखिन्छ । नेताको कुनै व्यवसाय छैन तर अर्बको सम्पत्ति देखिन्छ । मुलुकको ठूलो उद्योगी, व्यवसायी हुँ भन्छ र अर्बौंको मालिक बन्छ तर उत्पादनमूलक, सेवामूलक, रोजगारमूलक कुनै उद्योग देखिँदैन । करोड–करोड चन्दा दिँदै हिँड्छ तर उसको आम्दानीको स्रोत देखिँदैन । कर छल्नको चन्दाका निम्ति दिन्छ ।
प्रहरी, सेनामा जान घुस दिनुपर्ने १ राजनीतिक नियुक्तिका पदमा बोलकबोल, बढाबढ नै हुने । मन्त्री, सचिवविना पैसा काम नगर्ने १ यो कस्तो सङ्गठन हो ? कुन देशको हो ? भनेर कसैले न्युरोडको भूगोलपार्कमा उभिएर भन्यो भने कुनै आश्चर्य मान्दैनन् श्रोता वा बटुवाले ! सबैले एकैसाथ देश र सङ्गठनको नाम लिँदा सरकारको नाम भन्छन् ।
यो अवस्था छ/नौ महिनाबाट सुरु भएको होइन । यो त दशकौँदेखिको महारोग हो । यसको औषधि अझ पाइएन, चिन्ता यो हो ।
देशका सबैजसो सडक अलपत्र परेका छन् । जिम्मेवारले यसमा चासो दिएको पाइँदैन । सडकमन्त्री भ्रष्ट ठेकदारलाई अवधि सकिएपछि पुनः म्याद थप्दै जान्छ । किन यसो गरे होलान् ? सडक बनाउँछु भनेर कम्पनी खोलेर सरकारसँग सम्झौता गरेर सात वर्षसम्म सडक नबनाएर जनतासँग उठाएको पैसासमेत विलासिता खर्च गर्ने र कागजमा नक्सा देखाएर बस्नेलाई मन्त्री पद खुस्कने दिन अगाडिको मिति राखेर फेरि पाँच वर्षलाई म्याद थप किन गरे होलान् मन्त्रीले ? एक वर्षमा सक्नुपर्ने ठेक्काको काम तीन वर्षमा पनि नसकेपछि फेरि म्याद थप्न किन लागिपरे होलान् विभागीय निर्देशक, प्रमुख ? यस्तो काम किन भइरहेछ ? यसको छानबिन कसले गर्ने ?
यस्ता भ्रष्टाचारको छानबिन गर्न सजिलो छैन । भ्रष्ट प्रहरी, कर्मचारी, नेता, मन्त्री र ठेकेदारको चक्रव्यूह कसले तोड्ने ? कसरी तोड्ने ? यही नै अहिलेका प्रधानमन्त्रीलाई परेको फसाद हो ।
मन्त्री तस्करको दलाल, तस्कर नेताको दलाल ! बनाउने र बन्ने दुवै दलाल । मुख्य दलाल विदेशीको दलाल । यो दलालै दलालले चलाउने हो । यो प्रथा हो कि परम्परा ? यो सनातन हो कि आकस्मिक ? यसलाई तोड्ने कुनै ब्रह्मास्त्र छैन ? थोत्रा मिनिबस, थोत्रा टेम्पो, १०/१५ वर्ष नाघेका झाम्पट साना बस हटाउन र ठूला सफा बस सञ्चालन गर्न किन नसकेको ? के मन्त्री यी थोत्राहरूको कमिसनमा फसेको हो ? यिनलाई कारबाही गर्न लागेमा हिजो सत्ता चलाउने अहिले बाहिर गनगन गरेर बस्न बाध्य परेकाले सडकमा नानाथरी नारा लगाउने कि सुधारमा साथ दिने ? काठमाडौँको माइतीघर मण्डलामा पेटीकोट मात्र लगाएर सडक जाम गर्न उक्साउने कि बरु त्यहाँको फोहोर सफा गर्न लगाउने रु यसको जवाफ पूर्वप्रधानमन्त्रीसहित तत्कालीन मन्त्रीहरूले दिन सक्लान् ?
काम नगर्ने रकम पचाउने ठेकदारलाई स्याबासी दिने मन्त्री कुन देशमा छ ? यातायात अव्यवस्थित गर्ने र कमिसन खाएर अस्तव्यस्त बनाउने यातायातमन्त्री कुन देशमा छ ? करोडौँको वा भनौँ अर्बौंको रकम बुझाएर मन्त्री बन्न सक्ने को र कहाँ हो ? भनेर हाजिरजवाफ गरेमा उही उत्तरका लागि सार्वजनिक आह्वान गरेमा कसको नाम आउला ? के यो हिम्मत गर्ने पदाधिकारी कोही छ यहाँ ? बेतुकका फोस्रा नारा उचाल्ने पूर्वसत्ताधारी, यसैमा रमाउने कालाबजारी र भ्रष्टाचारी १ यही हो अहिलेको फसाद ।
नेपाल असंलग्न राष्ट्रहरूको सङ्गठनदेखि विभिन्न दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठनको सदस्य छ । दर्जनौँ महासन्धि, सम्मिलनमा आबद्ध छ । देशले कैयौँ सम्मेलन नेपालमा गर्न खोज्छ, गरिरहेको पनि छ । राष्ट्रप्रमुख, सरकारप्रमुख आउँछन् । सबैले राष्ट्रपतिसँग भेट र आवतजावत गर्दछन् । यसका लागि नेपालको हैसियत र विश्वका नेताको सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने सामान्य स्रोत, साधन पाहुना आउँदा सुहाउने गर्नु नेपालीको संस्कृति हो । सधैँ घरमा नमीठो खानेले पनि पाहुना आउँदा घर सजावट र मीठो–मसिनु ख्वाउने–खाने नेपाली स्वभाव हो । यसैकारण राष्ट्रपतिलाई वा उहाँको निवासलाई सुरक्षित, सुहाउँदो बनाउने गरिन्छ । जसले राष्ट्रिय संस्कृति, संस्कार र सम्पन्नताको झल्को दिने गर्छ । के नेपाल र नेपाली सधैँ कुच्चुक्र खुम्चिएकाहरू हुन् ? के हामी भ्रष्टमात्र हौँ ? के गरिबी देखाएर भिखपात्रो थाप्ने अनि भ्रष्टाचार गर्ने, फराकिलो मानसिकता नराख्ने, सडक फरकिलो नबनाउने वा फराकिलो बनाउन सहयोग नगर्ने र जाममा फसेर सरकारलाई गाली गर्नेमात्र हौँ ?
सेना, प्रहरी आवश्यकबाहेक सहरको मध्यभागमा बस्नुपर्ने होइन । तालिम केन्द्र, सहरको बीचमा राख्नु पनि ठीक होइन । यिनको हिजो त्यहाँ बाक्लो सहर थिएन । जहाँ बाक्लो बस्ती छ, त्यहाँ सेना र प्रहरी व्यारेक राखेर तिनका कवाज, गोली र कार्यक्रममा माइक घन्काएर नागरिकलाई घच्चा पार्नु सामान्यतः उचित हुँदैन । यी संस्थाका तालिम गर्ने क्षेत्र खुला र आवास क्षेत्रभन्दा बाहिर, जङ्गलभित्र हुनु उचित हो, यस्तै गरिन्छ । यति कुरालाई समेत ध्यान नदिएर अहिले विगतमै निर्णय भएको तर बल्ल कार्यान्वयन गर्न खोजिएको राष्ट्रपति निवाससँगै जोडिएको प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तर गर्ने विषयलाई उछालेर प्रचार गर्नु नैतिक सङ्कटमा परेकाहरूको बानी हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित