मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

नेपालमा पार्टी व्यवस्थापनको समस्या

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर ४, २०७५ विचार
khimlal devkota

खिमलाल देवकोटा

नेपाली राजनीतिमा विगतका केही दशक असाधारण उपलब्धिका रहे । राजतन्त्रबाट गणतन्त्रमा एकात्मकबाट सङ्घात्मकमा हिन्दू अधिराज्यबाट धर्मनिरपेक्षसम्म र असमावेशी राज्यबाट समावेशी राज्यमा परिणत हुनु राज्यको जीवनमा भएका असाधारण उपलब्धि नै हुन् । यस्ता उपलब्धि हासिल गरेका दलहरू यतिबेला आफ्ना उपलब्धिप्रति गर्व गर्नतिर होइन, आफ्नो सामान्य गुट स्वार्थ समूहको सानो घेरा र निहित स्वार्थमा नराम्ररी रुमलिएका छन् जसका कारणले उनीहरू आफ्नो पाटी व्यवस्थापन गर्न समेत सकिरहेका छैनन् भन्ने बुझाइ आम बन्दै गइरहेको छ । यत्रो उपलब्धि हासिल गर्न सक्ने पार्टी र नेतृत्वप्रति यो स्तरको अविश्वास सिर्जना हुनु कुनै पनि अर्थमा उचित मान्न सकिँदैन । आखिर यस्तो अवस्था किन आयो र यसको निदान के हुन सक्ला ?
गुटको गुजुल्टो नेपाली काङ्ग्रेस
२००७ सालमा जहानिया राणा शासनका विरुद्ध हतियार उठाउने गौरवशाली पार्टीको नाम नेपाली काङ्ग्रेस हो । राणा शासन फ्याँकेर प्राप्त गरेको बहुदल एक दशक पनि पूरा भोग गर्न नपाएरै दरबारबाट खोसिंदै र पार्टीमाथि प्रतिबन्ध लगाउने राजाको कदमका विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेर बहुदलीय प्रजातन्त्र पुनस्थापना गर्ने आन्दोलनको अगुवाइ गर्ने पार्टी पनि नेपाली काङ्ग्रेस नै हो । नेपालको सन्दर्भमा डेमोक्रयाटिक क्रिडेन्सियल (प्रजातान्त्रिक प्रमाणपत्र) प्राप्त पार्टी कुनै छ भने त्यो नेपाली काङ्ग्रेस मात्रै हो यो बुझाइ आम बुझाइ बनेको पनि हो । त्यस्तो पार्टी आज गुटैगुटको संयुक्त नाम नेपाली काङ्ग्रेस पार्टी हो भन्नुपर्दा पटक्कै मिठो लागेको छैन । तर यो यतिबेलाको यथार्थ हो । नेपाली काङ्ग्रेस विगत लामो समयदेखिको सत्ताधारी हुँदाहुँदै पनि यसपटक ऊ प्रतिपक्षमा पुगेको छ । प्रतिपक्षमा रहेर कम्युनिस्ट नेतृत्वको सरकारलाई खबरदारी गर्नपर्ने यो पार्टी आज आफ्नै समस्याबाट ग्रस्त छ । प्रमुख प्रतिपक्षमा रहेको पार्टी समस्याग्रस्त हुनु सत्तापक्षका लागि खुशखबरी पक्कै हैन । ऊ समस्याग्रस्त छ, त्यसको प्रतिबिम्ब नेपाली समाजमा परेको छ र सत्तापक्षमा पनि सरेको छ ।
रुमलिएको नेकपा
नेपाल कम्युनिस्ट पार्टी यतिबेला सत्ताधारी पार्टी हो । सत्ताधारी पार्टीमा पनि प्रमुख प्रतिपक्षी पार्टीका प्रभावहरू मनग्ये परेका छन् । तर सत्तारुढ पार्टी प्रतिपक्षी पार्टीकोभन्दा भिन्न समस्याबाट गुज्रिएको छ । कम्युनिस्टहरूको बहुमत हुँदाहुँदै पनि विभिन्न चिरामा विभाजन भएका कारणले तीस प्रतिशत नकाट्ने नेपाली काङ्ग्रेसले सधैँ सत्ता सम्हालिआएको सन्दर्भमा यस अघिको निर्वाचनमा कम्युनिस्ट घटकहरू एक हुनुपर्ने देश, जनता र समयको मागलाई आत्मसात् गरेकै कारणले निर्वाचनको पूर्व सन्ध्यामा पार्टी एकीकरण गर्ने वाचाका साथ चुनावी गठबन्धन गर्न सफल भए दुई ठूला कम्युनिस्ट पार्टी । सोही बमोजिम नेपाल कम्युनिस्ट पार्टी बन्यो । यसैले सुविधाजनक बहुमतको आधारमा सरकार सञ्चालन गरिआएको छ । तर पार्टी एकीकरणको घोषणा गरेको भए पनि वास्तविक रूपमा पार्टी एकताको कार्यभार सम्पन्न भएको छैन । त्यसैकारणले ऊ चौबाटोमा रुमलिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका लागि मात्रै हैन, सिंगै देशकै लागि २०१५ सालपछि ६० वर्षमा पहिलोपटक सुविधाजनक बहुमत प्राप्त भएको छ । अरु पार्टीहरूको समेत समर्थनका कारणले यतिबेलाको सरकार बलियो, पाँच वर्षका लागि स्थायी मात्रै होइन, चाहेका बखत संविधान, कानुन, व्यवस्था सबै बदल्न सक्ने गणितसहित सत्ताको बागडोर सम्हालेको अवस्था छ । सङ्घीय सरकार मात्रै होइन, सातै प्रदेशमा ऊ बहुमतमा छ र सातमध्ये छवटा प्रदेश सरकार उसको नेतृत्वमा एकलौटी बहुमतमा छन् । प्रतिपक्षीको अवरोध उसका लागि सामान्य मात्रै छ । त्यसमा पनि प्रतिपक्ष आफैं समस्यामा छ, गुटैगुटको संयुक्त मोर्चाका रूपमा ऊ पुगेको अवस्था छ । कामै गर्ने हो भने सत्ता पक्षका लागि यो अनुकूल अवस्था हो । तर पनि देखिने गरी काम हात लागेको छैन । जनताको धैर्य विस्तारै टुट्दै गएको छ र जनताको विश्वास पातलिँदै गएको अवस्था सत्तापक्षका लागि सुखद समाचार होइन ।

पार्टी एकीकरणलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा झार्न नसक्नु, केन्द्रमा पनि केन्द्रीय समितिको बैठक बसालेर सिंगो पार्टीलाई एकढिक्का बनाएर लैजान नसक्नु, सरकार बनेको आधा वर्ष बितिसक्दा पनि जनताले महसुस गर्ने कामको थालनी गर्न नसक्नु कसैका लागि पनि कर्णप्रिय खबर होइन । यसो हुनुको कारण भनेको पार्टी नसम्हालिनु नै हो । पार्टीले गरेका निर्णय हुन् वा सरकारले गरेको काम, कसैको पनि स्वामित्व पार्टीले लिएको छैन । जनताले पनि सोको स्वामित्व लिएका छैनन् किनभने उनीहरू पार्टीको ‘च्यानल’मार्फत सन्देश आओस् भनेर व्यग्र प्रतीक्षामा छन् । यसरी हेर्दा सरकार एकातिर, पार्टी अर्कोतिर, पार्टीका शीर्ष नेताहरू एकातिर, मझौला नेता अर्कातिर अनि समर्थक शुभचिन्तक र जनता एकातिर हँुदै गर्दा परिणामतः नेपाल कम्युनिस्ट पाटी चौबाटोतिर बन्न पुगेको अवस्था छ ।
अरु यता न उता
‘त्यसै त बज्यै सुन ला’की’ भनेजस्तै अरु अवस्थामा त समाजमा खासै भूमिका नराख्ने साना दलहरूको हाल (अवस्था) सत्तापक्ष र प्रमुख प्रतिपक्षको यो अवस्थामा के होला भन्ने चर्चा गरिराख्न नपर्ला । लामो समयदेखि सत्ता सञ्चालन गरिआएको प्रतिपक्षी पार्टीको त्यो बेहाल सँगसँगै सत्तापक्षको अलमलका बीचमा अरु पार्टीहरूको सहज र स्वभाविक गति हुने कुरा कल्पना पनि गर्न सकिन्न । ‘ठूला मामाको त फाटेको टोपी, साना मामाको झन् के गति’ भनेझैँ उनीहरू पनि आफ्नै सांगठनिक अलमलमा व्यस्त देखिन्छन् । ठूला पार्टीहरू अलमलमा रहेका बेला साना पार्टीहरूले झक्झकाउने र बाटो देखाउने कार्यभार पूरा गर्ने कुरा नेपालको सन्दर्भमा केही अपवाद बाहेक कहिल्यै देखापरेन । यस अघिका अनुकूलता र प्रतिकूलतामा पनि एकै धारका पार्टीहरूले सोही धारका अरु पार्टीहरूलाई दिशा निर्देश गर्ने काम गर्न सकेनन् । बरु विल्कुल प्रतिकूल धार र अवस्थामा रहेकाहरूले सम्पूर्ण जोखिम उठाएरै भए पनि केही झक्झकाउने र केही सोच्न बाध्य बनाएका हुन् । तर यति नै बेला भने सो अवस्था पनि देखिन्न । अन्य पार्टी साना हुनु आफैँमा समस्या नभए पनि न यता न उता हुनु भने विल्कुल समस्याको विषय हो । यसको मार नेपाली समाज, देश र जनता सबैले एकमुष्ट भोग्दैछन् ।
निष्कर्ष
दलीय पद्धतिमा दलहरूले सरकार सञ्चालन गर्दछन् । यो सामान्य जानकारीको विषय हो । औपचारिक रूपमा दलका सदस्य कुल जनसंख्याको अनुपातमा अत्यन्त न्यून मात्रै हुने गर्दछन् । तथापि आम जनता जो सामान्य मतदाता मात्रै हुन्, तिनको लगाव, चिन्ता र क्रियाशीलता एवं पक्षधरता हेर्दा दलका सदस्यभन्दा कम प्रतिबद्ध छैनन् । यो अवस्थामा दलहरू नसम्हालिनु, अलमलिनु र जनअपेक्षा अनुरूप गति नपक्रनु निकै गम्भीर चासोको विषय हो । यही चासोको सँघारमा नेपालका दलहरू पुगेका छन् । सङ्क्रमणकालको प्रभाव दलहरूमा परेको भन्न सकिएला तर सङ्क्रमणको यो घडी समस्या मात्रै हैन, समाधान पनि सँगै लिएर आउँछ भन्ने सोच्नु र सो समाधानमुखी पाटोलाई उधिनेर उपयोग गर्न नसक्नु अर्को विडम्बनाको पाटो हो । सङ्क्रमणकाल अवसर र चुनौती दुवै बोकेर उपस्थित छ । दलहरूले यो अवसरलाई चुम्ने र चुनौतीलाई अवसरमा परिणत गर्ने मौकालाई गुमाउने छैनन् भन्ने विश्वास गरौँ । यसैमा दल देश जनता र समाज सबैको हित अन्तरनिहित छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित