आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

राजनीतिमा साधु र चोर

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक १९, २०७५ विचार
Shreeman-narayan-tapaikokhabar

श्रीमन नारायण

मधेसवादी राजनीतिक दलका कतिपय नेता पटक–पटक गर्वपूर्वक दोहो-याउँदै आएका छन् कि उनीहरू जोगी, साधु बन्न राजनीतिमा आएका होइनन् । यस्तो किसिमका टिप्पणी आउनु पछाडिको आसयबारे समीक्षा हुनु आवशयक छ ।
साधु, योगी र सन्त जस्ता पवित्र शब्दहरूको दुरुपयोग गर्ने अधिकार राजनीति गर्नेहरूलाई हुन सक्दैन । साधु जस्ता उच्च आदर्शका व्यक्तित्व नेपाली राजनीतिमा धेरै संख्यामा पदार्पण गरेका भए देशको दुरवस्था नै रहने थिएन । सामान्य अर्थमा साधु भन्नाले निःस्वार्थी, परोपकारी, इमान्दार, सबैसित समान व्यवहार गर्ने, सबैमा अपनत्व तथा बन्धुत्वको भाव बुझ्ने तथा जनसेवा एवं राष्ट्रसेवालाई सर्वोपरी ठान्ने व्यक्तिलाई बुझिन्छ । साधुको नजरमा न कोही आफ्नो हुन्छ न त पराइ नै । उपरोक्त सद्गुण भएका व्यक्तिको आलोचना गरेर यदि कोही राजनीतिज्ञ आफूलाई यसको विपरीत चरित्र भएको कित्तामा उभ्याउन खोज्दछ भने यसको सोझो अर्थ हुन्छ – त्यस्ता नेताहरू भ्रष्टाचार गर्न मात्रै राजनीतिमा आएका हुन् । जातिवादी, परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन राजनीतिमा आएका हुन् । देश र जनतासित उनलाई कुनै सरोकार छैन । येनकेन प्रकारेण सत्तामा पुग्नु, लामो समयसम्म सत्तामा टाँसिइरहनु तथा सत्ताच्युत भएपछि संवेदनशील एवं भावनात्मक मुद्दालाई उचालेर आफ्नो स्वार्थपूर्ति गर्नु नै अभीष्ट भइसकेका राजनीतिज्ञहरूलाई साधुको चरित्र नराम्रो लाग्नु स्वभाविकै हो । यदि कोही व्यक्ति साधु बन्न राजनीतिमा आएको होइन भने पक्कै पनि ऊ चोर बन्न आएको हो किनभने साधुको विपरीतार्थक चोर नै हो ।

प्रस्ट राजनीतिक सिद्धान्त, पृष्ठभूमिसहितको नेतृत्व, वैकल्पिक कार्यक्रम तथा दूरदर्शिता बिना पनि कुनै राजनीतिक संगठनले तत्कालीन जनाक्रोशलाई एकत्रित गरेर आन्दोलनको आँधीबेहरी खडा गर्न सक्दछ, स्थापित राजनीतिक शक्तिको प्रभावलाई केही समयको निम्ति अवरोध पु¥याउन सक्दछ । आन्दोलनको प्रभावको कारण कुनै चुनावमा सफलता पनि पाउन सक्दछ तर त्यसको दीर्घकालीन प्रभाव र असर हुँदैन । जनताको तत्कालीन पीडा एवं आक्रोशलाई भजाएर चुनाव जित्नु र परिवर्तनको संवाहक बन्नु छुट्टै कुरा हो । जनताको जीवनमा आमूल परिर्वतन ल्याउने दृष्टिकोण भएको नेताले नै दीर्घकालीन राजनीति गर्न सक्दछ । होइन भने उल्कापातजस्तै चम्किएर आउने र विलीन हुन बेर लाग्ने छैन । सिद्धान्त, नीति र कार्यक्रमको अभावमा केवल जाति एवं क्षेत्रको नाराले सधैँ सफलता दिलाउन सक्ने छैन ।

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समाज र राष्ट्रसेवाको निम्ति आफ्नो घर परिवारको वास्ता गर्नुभएन । सम्पत्ति आर्जनको अभिलाषा भएन । उहाँ सन्त होइन तर सन्तभन्दा कम पनि छैनन् भन्छन् समर्थकहरू । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको राजनीतिक यात्रा र सम्पूर्ण जीवन पनि साधुभन्दा कम थिएन । भारतकै समाजवादी नेता डा. राम मनोहर लोहियाको आफ्नो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उहाँको घर थियो । डा. लोहियाको चर्चाविना समाजवादको चर्चा अधुरो हुनेछ तर डा. लोहिया पनि सन्तभन्दा कम हुनु हुन्नथ्यो । भारतमा जयप्रकाश नारायण तथा नेपालमा गणेशमान सिंहले स्वेच्छाले प्रधानमन्त्रीको पद स्वीकार गर्नुभएन ।

हामी आफ्नो देशभित्र मात्रै हेर्ने हो भने पनि कृष्णप्रसाद भट्टराई सन्त नेता मानिनु हुन्थ्यो । नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं देशका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बाँचुन्जेल सन्तमय जीवन नै बिताउनुभयो । उहाँले चाहेको भए पार्टीमा कठोर अनुशासन कायम गराउन सक्नु हुन्थ्यो र बाँचुन्जेल प्रधानमन्त्री बन्न पनि सक्नुहुन्थ्यो तर उहाँले आफ्नो चिन्ता गर्नुभएन । पार्टीको चिन्ता गर्नुभयो । पद र सत्ताको निम्ति पार्टीलाई कमजोर बनाउने अथवा पार्टी फुटाउने काम उहाँले गर्नुभएन । चाहेको भए पार्टी र सरकार दुवैको नेतृत्व एकैसाथ पनि गर्न सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन । नेपाली काङ्ग्रेसमा स्व.बीपी र गणेशमानपछि सम्मानित नेताको रूपमा उहाँकै नाम आउँछ ।

वामपन्थी नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी सन्त हुनुहुन्थेन तर सन्तजस्तै हुनुहुन्थ्यो । राणाविरोधी आन्दोलन तथा पञ्चायत विरोधी आन्दोलनमा लागेका अधिकांश नेताहरू सिद्धान्तनिष्ठ राजनीतिमाथि विश्वास राख्दथे । धन आर्जन गर्नु मात्रै तिनको लक्ष्य थिएनन् । सन्त हुनुको अर्थ गेरु वस्त्र, निधारमा भष्म लगाउनु र कमाण्डलु लिएर तपोवनमा योग–ध्यान गर्नु मात्रै होइन ।
नेपालको राजनीतिमा पनि यस्ता अनेकौं नेता कार्यकर्ताहरू भए जसले राजनीतिमा आएर आफ्नो पुख्र्यौली सम्पत्ति गुमाए तर राष्ट्रको ढुकुटीलाई रित्याउने काम गरेनन् । वर्तमान समयमा आफ्नो घर परिवार, नातेदार, जाति, गुटको उत्थान एवं कल्याणलाई नै आफ्नो कर्तव्य र धर्म ठान्ने प्रवृत्तिका नेताहरू नै निर्णायक ठाउँमा पुगिरहेका छन् । त्यसैले त यस्ता व्यक्तिहरू आफूलाई योगीको ठाउँमा भोगी भन्न बढी रुचाइरहेका छन् ।

विगतमा देश तथा पार्टीको नाउँमा आफ्नो सम्पत्ति र ज्यान गुमाउनु अथवा समर्पित गर्नुलाई गौरव एवं सम्मानको विषय मानिन्थ्यो । वर्तमानमा आफ्नो घर परिवारको निम्ति अथाह सम्पत्ति आर्जन गर्नुलाई नै गर्व एवं सम्मानको विषय मान्ने प्रवृत्ति बढेको छ । राजनीतिज्ञहरू व्यापारी साबित भइरहेका छन् । व्यापारीहरू धमाधम राजनीतिमा प्रभावकारी एवं निर्णायक ठाउँमा पुगिरहेका छन् । राजनीतिज्ञको स्थान ठेकेदार तथा व्यापारीले लिन थालेका छन् । शायद त्यसैले धन आर्जन गर्नमा तल्लीन नेताहरूले आफूमाथि लाग्ने गरेको भ्रष्टाचारको आरोपलाई खण्डन गर्न आफूहरू साधु बन्न राजनीतिमा नआएको सफाइ दिन्छन् । यस्तो भनाइको आशय नै उनीहरू पैसा कमाउन, सत्ता सुख भोग्न, ऐश मोज गर्न तथा आफ्ना घर परिवार एवं नातेदारहरूको जीवनस्तरलाई उकास्न मात्रै राजनीतिमा आएको हो भन्ने स्पष्ट छ । तर पनि यदि त्यस समाज र क्षेत्रका जनता त्यस्ता राजनीतिज्ञहरूमाथि विश्वास गरिरहेका छन् र तिनलाई आफ्नो समर्थन दिइरहेका छन् भने यसमा दोष त्यस्ता नेताहरूको नभई जनताकै हो भन्नुपर्दछ ।

तराई मधेसको आर्थिक एवं सामाजिक अवस्था साह्रै दयनीय छ । विकास सम्बन्धी तमाम सूचकांकहरू निराशाजनक छन् । शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । कलकारखानाहरू बन्द परेका छन् । कृषि क्षेत्रको अवस्था दयनीय छ । बेरोजगारीको समस्या उत्कर्षमा छ तर त्यतातिर कसैको पनि ध्यान जान सकिरहेको छैन । प्रादेशिक सरकारको पनि नौ महिना बितिसकेको छ तर जनताको जनजीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम ल्याइएका छैनन् । केवल सस्तो लोकप्रियता पाउने खालका घोषणाहरू मात्रै भइरहेका छन् । बाह्रै महिना चुनावको समय हुँदैन तसर्थ केवल भोटको राजनीति गर्नु हुँदैन । आफ्नो कमी कमजोरी एवं अकर्मण्यतालाई लुकाउन मधेसवादी दलका नेताहरू केन्द्रसित विवादको नाटक गर्दछन् ।
हुन पनि राजनीतिमा साधुभावले प्रवेश नगरेकाहरूसित बढी अपेक्षा पनि गर्न सकिँदैन । साधु बन्न आएका भए मात्रै आर्थिक सामाजिक एवं राजनीतिक विकासको अपेक्षा गर्न सकिन्थ्यो तर घोषित रूपमै साधु विरोधी आचरणका साथ राजनीतिमा घुसपैठ गरेकाहरूले भ्रष्टाचार र अनियमिततालाई नै बढावा दिने छन् । यसलाई दुर्भाग्यपूर्ण र विडम्बना मात्रै भन्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित