दार्चुलामा भूकम्प गयो | नेकपाका ४४१ केन्द्रीय सदस्य बालुवाटारमा, भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक | नगर प्रमुख र कर्मचरीको विवादले नगरपालिकाको कामकाज ठप्प | बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा | नेविसंघको आमन्त्रित सदस्यमा गुण्डा नाइकेको नाम परेपछि भाँडभौलो | हुकिङ गरी विद्युत चोरी गर्ने २० जना पक्राउ | कसैले रोइकराई गरेको भरमा अहिलेको सरकार ढल्दैन : प्रचण्ड | नेकपाले नै कम्युनिष्टको धरोहर मदन भण्डारीको अपमान गर्याे : विश्वप्रकाश शर्मा | जो दलित समुदायका सान हुन्, सगरमाथाको विजययात्रा | नेकपाको पहिलो बैठक आज, नागरिकतासहित उपस्थित हुन निर्देशन

ति सात दिन- २….सानु शर्मा

सानु शर्मा प्रकाशित : वैशाख २९, २०७५ Big News, कला खबर, साहित्य, सिर्जना
सानु शर्मा

ति सात दिन-२ 

दुई

सोह्र-सत्र वर्षअघि, गाउँभरिमै पढेलेखेको, स्कूलको मास्टरसमेत भएको, हुनेखानेमा गनिने मेरा बाबा दशरथ पण्डितको आकाश छुने महत्वाकाङ्क्षालाई पछ्याउँदै मेरी आमा कौसल्या पण्डित, दश-एघार वर्षका मेरा दाइ जनार्दन पण्डित, आठ-नौ वर्षकी म जानकी पण्डित र दुई वर्षकी मेरी बहिनी ज्योति पण्डित धनकुटाको कैलाबारीजस्तो दुर्गम ठाउँबाट एउटा सपनालाई पछ्याउँदै शहरको भीडमा मिसिन आयौँ ।

त्यसबेला मेरा बाबाको गाउँ छोड्ने धुन देखेर आफन्त र गाउँलेहरूले वहाँलाई पागलसम्म भन्न छोडेनन् । मेरी आमा कौसल्या पण्डित, पुजारी परिवारकी छोरी, जसको धर्म र अन्धविश्वासको कुनै अन्त्य थिएन । लोग्नेसँगै सती जाने प्रथामा विश्वास राख्ने, घरको दुनियामै सीमित मेरी आमाका लागि मेरा बाबाको हरेक वचन – सत्य वचन थिए । आफन्तले उहाँलाई कति सम्झाए गाउँ छोड्ने त्यो पागलपनबाट बाबालाई रोक्न तर आमा एकशब्द नबोली बाबाको पछिलाग्नु भयो, लागिरहनु भयो, जबकि बाबाको गाउँ छोड्ने कुरामा सबैभन्दा चर्को अनिच्छा देखाउनेमा उहाँ नै हुनुहुन्थ्यो ।

त्यसबेला, गाउँको घेरा काटेर पल्लो गाउँसम्म नपुगेकी मेरी आमाको डर, धर्मसङ्कटपूर्ण स्थिति, असुरक्षितहुनुकोडर, एक्लिनुपर्दाको पीडा र शहरको भीडमा हराउने त्रासलाई बाबाका शब्दहरूले होइन, बरु उहाँलाई दह्रोसँग थामेका बाबाका हातले कम गराएथ्यो । तर बाबाको काठमाडौँको शुरुआत वहाँको सोच र सपनाजस्तै सुन्दर नभएर यथार्थजस्तै कुरुप र कठोर भएको थियो ।
गाउँबाट जग्गा जमिन बेचेर ल्याएको पैसाले उहाँले काठमाडौँमा स्कूल खोल्नु भएथ्यो जुन बडो मुस्किलले घिस्रिरहेथ्यो ।

बाबाको पैसा कमाउने सपना त थियो नै तर त्यो भन्दापनि ठूलो सपना हामीहरूलाई राम्रो स्कूलमा पढाउने र शिक्षित बनाउने थियो । त्यहि सपनाको फेर समातेर गाउँ छोड्नुभएको वहाँले शुरुआत पनि गर्नुभएथ्यो हामीलाई आफैँले खोलेको बोर्डिङ स्कूलमा हालेर, तर यस्तो लाग्दथ्यो-त्यो शुरुआत मात्र नै थियो ।

काठमाण्डौ आएको तिन वर्ष नपुग्दै बाबाको हालत यस्तो भयो -उहाँ गाउँ छोडेर आएकोमा पछुताउन थाल्नु भएथ्यो ।यसैबीच, अचानक आमाका पूज्य पिताजी स्वर्गे हुनुभयो । बाबाको जाने हालत थिएन तर आमाको मूक आँसुको अर्को विकल्प बाबाले खोज्न सक्नु भएन । घरको स्थिति ठीक थिएन । त्यसमाथि तीन-तीन जना केटाकेटीको साथमा त्यति टाढाको यात्रा बाबाको लागि सम्भव थिएन ।
यस्तोमा समाधान लिएर आमाका टाढाका नातेदार उपस्थित भए । किनकि हाम्रो स्कूल छुट्टी थियो, आमाका नातेदार, केदार मामाले जनार्दन र मलाई एकहप्ता आफूकहाँ राख्ने आश्वासन दिए । बाबा त सहमत हुनुहुन्नथ्यो तर आमा हजुरबुबाको अन्तिम दर्शनको लागि यति व्याकुल हुनुहुन्थ्यो कि बाबाले केही भन्न सक्नुभएन ।

त्यस बिहान केदार मामा आएर हामीलाई साथैलिएर जानुभयो ।
उहाँ जहाँ बस्नुहुन्थ्यो त्यो दुनिया हाम्रोभन्दा अलग, धेरै अलग थियो ।
केदार मामा नेपालको इतिहास मेकर श्री ३ जङ्गबहादुर राणाका बंशज, ध्रुवजङ्ग राणाको घरमा काम गर्दथे । ध्रुवजङ्गको विवाह राजपरिवारमा भएको थियो । उनको रहनसहनमा मात्र होइन चालढालमा पनि अर्कै शान थियो । उनको दरबारजत्रै जङ्गी महलको पछाडिको क्वार्टरमा केदार मामा र उनकी श्रीमती बस्दथे । केदार मामा र उनकी श्रीमती विमला माइजू विनारोकटोक ध्रुवजङ्गको महलमा आवत-जावत गर्दथे । उनीहरूको धेरैजसो समय ‘तारा निवास’ मै बित्दथ्यो । त्यसैले हामीलाई पनि त्याहाँ जान कुनै रोकटोक थिएन ।

पहिलोपटक जब हामी केदार मामासँग त्यहाँ गएथ्यौँ,मामाले भन्नुभएथ्यो “ठूलाबडा मान्छे हुन्, त्यसैले छुकछुक नगर्नु, क्वार्टरमै बसेर टिभी हेर्नु, उता नजानु, हजुर (ध्रुवजङ्ग) ले मनपराइ बक्सन्न, शाहजादी हजुर त ठूलो मनको होइबक्सन्छ तर हजुरको मिजासको कुनै ठेगान हुँदैन ।” मामाको कुरा जनार्दनले कति बुझ्यो थाहा छैन तर मैले त सुन्ने कोसिस पनि गरिनँ । म त त्यहाँको सम्पन्नता र रवाफ देखेरै दङ्गदास भईरहेँ ।

क्वार्टरमा दुईवटा कोठा थिए । त्यसबाहेक एउटा सानो किचेन पनि थियो । मामाले एउटा कोठामा जनार्दन र मलाई बस्ने व्यवस्था मिलाइदिनुभयो । माइजू मलाईसँगै राखेर दङ्ग हुनुहुन्थ्यो । केदार मामा र माइजूको विवाह दश वर्षअघि भए पनि कुनै सन्तान भएका थिएनन् । मामाको त थाहा छैन, माइजूको केटाकेटीप्रतिको चाहना उहाँकै व्यवहारमा प्रस्ट झल्कन्थ्यो ।

उनीहरू कहिलेदेखि ध्रुवजङ्गको चाकडीमा थिए थाहा छैन तर देख्दा यस्तो लाग्दथ्यो -उनीहरू ध्रुवजङ्ग नामको ठूलो रूखको ओतमा सुखपूर्वक जीवन बिताइरहेथे । घरमा सम्पन्नताको नाउँमा हरेक आधुनिक उपकरण सजाइएका थिए जुन हाम्रो घरमा थिएन । जनार्दन र मलाई केदार मामाको सजिसजाउ क्वार्टरले यति प्रभावित गऱ्यो – हामी दुवैले ती सातदिन कहिल्यै नबितुन् भनेर भगवानसँग प्रार्थना गऱ्यौँ ।
क्रमस………. बाँकी अर्को हप्ता पढ्न नभुल्नुहोला ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित